close

उदयपुरमा जनप्रतिनिधि, अस्पताल प्रमुखसहित १९ स्वास्थ्यकर्मी संक्रमित 

उदयपुरमा जनप्रतिनिधि, अस्पताल प्रमुखसहित १९ स्वास्थ्यकर्मी संक्रमित 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरमा कोभिड संक्रमितको उपचार तथा उद्धार गर्दागर्दै चिकित्सकसहित जनप्रतिनिधिसमेत संक्रमित भएका छन् । जिल्ला अस्पताल गाईघाटका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डलसहित ३ चिकित्सक, ७ नर्स, ४ जना प्रशासनतर्फका कर्मचारी, ३ कार्यालय सहयोगी र अन्य २ गरी १९ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाट उदयपुरले जनाएको छ । 

 

संक्रमित भएका मेसु, ५ नर्स, ३ प्रशासन कर्मचारी र अन्य ३ जना निको भइसकेका छन् भने ७ जना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेको डा. मण्डलले बताए । 

 

जेठ पहिलो साता शरीर र टाउको दुख्ने लक्षण देखिएर पिसिआर जाँच गराउँदा कोभिड पोजिटिभ भएसँगै होम आइसोलेसनमा बसेको १० दिनपछि डा. मण्डलको स्वाबको रिपोर्ट सोमबार नेगेटिभ आएको हो । 

 

उनीसँगै ५ नर्स र प्रशासनका ३ कर्मचारीको स्वाब पनि नेगेटिभ आएपछि अस्पतालको सेवा सहज भएको छ । संक्रमित २ मेडिकल अधिकृत, २ नर्सलगायत ७ जना अझै आइसोलेसनमा बस्नुपर्दा कोभिड बिरामीको उपचारमा समस्या भएको छ ।


बिरामीको उपचारमा रातदिन खट्ने अग्रमोर्चाका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि २ सातायता जिल्ला अस्पतालको सेवा प्रभावित भएको थियो । मंगलबारदेखि १२ संक्रमित निको भएर काममा फर्केपछि बिरामीको उपचार सेवा केही सहज भएको डा. मण्डलले बताए ।

 

त्यसैगरी त्रियुगा नगरपालिकाका ३ जना वडाध्यक्ष, १ कार्यपालिका सदस्यलाई कोभिड संक्रमण पुष्टि भएको छ । कोभिड नियन्त्रणमा जनताको घरदैलोमै पुगेर कोभिड परीक्षणमा खटिएका त्रियुगा नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मानबहादुर राई, वडा नम्बर १० का वडाध्यक्ष प्रकाशकुमार खड्का, वडा नम्बर ५ का वडाध्यक्ष उद्धवसिंह थापा र कार्यपालिका सदस्य गोमा कार्की संक्रमित भएका हुन् । 

 

होम आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई पोषिलो खाना, आयुर्वेदिक औषधी, किट लिएर घर-घरमै जाने र अप्ठेरोमा परेका कोभिड संक्रमितलाई उद्धार गरी अस्पतालसम्म लैजाने क्रममा उनीहरू संक्रमित भएका हुन् । उदयपुरमा सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ६ सय ७ जना कोभिड संक्रमित थिए । 


त्यसमा २२ जनाले ज्यान गुमाइसकेका छन् भने ९९ जना निको भएका र ४ सय ८६ जना अझै सक्रिय संक्रमित रहेको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा उपप्रमुख अवबधनारायण चौधरीले जानकारी दिए । 


जिल्ला अस्पतालसँगै आँखा अस्पतालमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा अक्सिजनसहितको उपचार सेवा उपलब्ध छ । अस्पतालमा इमर्जेन्सी र आँखा अस्पतालमा ४० शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । 

 

आइसोलेसन सेन्टरका फोकल पर्सन शिवकुमार यादवका अनुसार हाल त्यहाँ १५ जनालाई अक्सिजनसहित २२ जनाको उपचार भइरहेको छ । 

 

निर्माणाधीन भवनका सबै शय्यामा अक्सिजन राख्न नमिलेर हाल भुइँ तलाको १५ बेडमा मात्र अक्सिजनसहित उपचार दिइँदै आएको र बाँकी शय्यामा नर्मल बिरामीको उपचार भइरहेको छ ।

 

मंगलबार ६० संक्रमित थपिए, निको हुनेको संख्या २३७

उदयपुरमा मंगलबार थप ६० जना कोभिड संक्रमित थपिएका छन् । त्यसमा २६ महिलासहित ६० जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमित संख्या १ हजार २ सय ४३ जना पुगेको छ । 


संक्रिय संक्रमित ४ सय ३५ महिलासहित ९ सय ७१ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिकामा ३६ जना थपिएका छन् भने चौदण्डीगढीका १३, बेलकाका ७ र ताप्ली गाउँपालिकाका ४ जना नयाँ संक्रमित फेला परेका छन् । 

 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत उमेश लुइँटेलका अनुसार मंगलबार २ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या जिल्लामा १ सय २ महिलासहित २ सय ३७ पुगेको छ । निको हुनेमा त्रियुगाका ३९ महिलासहित ९९, चौदण्डीगढीका २५ महिलासहित ५८, बेलकाका २२ महिलासहित ४१ र कटारीका ६ महिलासहित १६ जना छन् । 

 

त्यस्तै, गाउँपालिकातर्फ रौतामाईमा २ महिलासहित ९ जना, लिमचुङबुङमा ४ महिलासहित ८, उदयपुरगढीमा ३ महिलासहित ५ र ताप्लीमा १ महिला निको भएको लुइँटेलले बताए ।

 

जिल्लामा सक्रिय संक्रमित त्रियुगामा २ सय ११ महिलासहित ४ सय ८६, कटारीमा ५२ महिलासहित १ सय १४, चौदण्डीगढीका ५८ महिलासहित १ सय १८ र बेलकाका ५१ महिलासहित १ सय ४ जना छन् । 

 

गाउँपालिकातर्फ रौतामाईका २५ महिलासहित ७२, लिमचुङबुङका २७ महिलासहित ५२, उदयपुरगढीका १० महिलासहित ३१ र ताप्लीका ४ पुरुष उपचाररत छन् ।

 

धेरैजसो संक्रमित होम आइसोलेसनमा छन् भने अन्यको उदयपुर कोभिड अस्पताल बेलटार, गाईघाट आँखा अस्पताल तथा विराटनगर र धरानमा उपचार भइरहेको छ ।