close

सोलु करिडोर प्रसारण लाइन ३ वर्षदेखि अवरुद्ध, छैटौँ पटक थपियाे म्याद

सोलु करिडोर प्रसारण लाइन ३ वर्षदेखि अवरुद्ध, छैटौँ पटक थपियाे म्याद

Trulli
ADVERTISEMENT

उदयपुर– निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम उदयपुरको कटारी नगरपालिका क्षेत्रमा ३ वर्षदेखि अवरुद्ध भएको छ । 

 

कटारी नगरपालिका वडा नम्बर ४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण ३ वर्षयता रोकिएको हो । कटारी नगरपालिका वडा नम्बर ४ मरुवाका स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याएका हुन् । 

 

स्थानीयको अवरोधपछि आयोजनाको काम ३ वर्षदेखि त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन । निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ मा व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युत्मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

 

स्थानीयको अवरोध जारीपछि सोलु करिडोरको छैटौँ पटक म्याद थप गरिएको छ । ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटा मात्रै निर्माण गरिएको छ । 

 

सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको आयोजनाले पुनः छैटौँ पटक म्याद थपका लागि फाइल अघि बढाएको हो । सन् २०२१ मेमा काम सक्ने सर्तमा पाँचौँ पटक म्याद थप गरेको आयोजनाले पुनः ३ महिनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । 

 

आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिए पनि स्थानीयको अवरोधका कारण समयमै सम्पन्न हुन नसकेको हो ।

 

सिराहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटा मात्रै फाउन्डेसनको काम सकिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गौतमका अनुसार अन्य १० वटा टावरको फाउन्डेसन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयले अवरोध गरेका छन् । 

 

उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको प्रमुख गौतमको भनाइ छ । सिराहादेखि सोलुसम्मको ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटरमा तार टाँगिएको छ । बाँकी ३० किलोमिटर स्थानीयको अवरोध हुने क्षेत्रभित्र पर्छ ।

 

सोलुखुम्बुको पत्तालेमा २ किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ । स्थानीय र आयोजना बीच कुरा नमिल्दा ३ वर्षदेखि निर्माणको काम ठप्प छ । सो प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रि«य प्रसारण लाइनमा जोड्ने योजना छ ।

 

नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ । २०७२ चैतमा भारतीय मोहन इनर्जी कम्पनी प्रालिसँग प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो । 

 

आयोजनाअन्र्तगत उदयपुरमा पर्ने १४१ टावरमध्ये १० वटा टावर निर्माणमा अवरोध भएको हो । ओखलढुंगामा ११२, सोलुखुम्बुमा २४ टावर र सिराहामा २५ वटा टावर निर्माण भइसकेको छ ।

 

सोलुखुम्बुको तिन्लाादेखि बेलीडाँडासम्म ४.५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । तिन्लामा १३२ र ३३ र ३३ र ११ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । 

 

सिराहाबाट गएको ३३ केभी लाइनलाई तिन्ला सबस्टेसनमा जोडिएको छ । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइन निर्माण गरिएको हो ।

 

प्रसारण लाइनको काम ३१ फेब्रुअरी २०२० भित्रमा सक्ने लक्ष्य राखिएको थियो । प्रसारण लाइन तयार भएपछि प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेका १२ जलविद्युत् आयोजनाको ३ सय २५ मेगावाटको विद्युत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

 

सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजना पनि यही लाइनमा जोडिनेछन् ।

 

यी आयोजना निर्माण अन्तिम चरणमा पुगेकाले प्रसारण लाइन अभावमा उत्पादित विद्युत् खेर जाने चिन्ता प्रवद्र्धकले गर्दै आएका छन् । आयोजनाको विद्युत जोड्न प्राधिकरणले प्रसारण लाइन समयमा तयार नगरे ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था पिपिएमा छ ।

 

सोलु आयोजना विद्युत उत्पादनको चरणमा पुगेकाले प्राधिकरणले ३३ केभी लाइनमा जोड्ने विकल्प दिएको छ । ३३ केभी लाइनमार्फत सबै विद्युत् जोड्न सम्भव नहुने प्रवद्र्धकले बताउँदै आएका छन् ।

 

सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बंैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रसारण लाइन ठेकेदार छनोटमा भएको विवादका कारण झन्डै २ वर्ष ढिला गरी सुरु भएको थियो । 

 

प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जी प्रालिसँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । सोलुखुम्बुको सोलु खोलामा निर्माण भइरहेका ६ जलविद्युत् आयोजना छन् । २१७.५ मेगावाट क्षमताका जलविद्युत् आयोजना सम्पन्न हुने अवस्थामा पुगेका छन् । 

 

सोलु करिडोरमा सोलु १८ मेगावाट, जुनबेंसी ५.२ मेगावाट, लोअर सोलु ८२ मेगावाट, सोलुखोला २३.५ मेगावाट र सोलुखोला, दूधकोसी ८६ मेगावाट जलविद्युत् आयोजनाको बिजुली सोलु करिडोरमार्फत ल्याई वितरण गर्ने योजना रहेको छ ।

 

आयोजनामा साविकका २२ गाविसका दर्जनौँ सामुदायिक वन क्षेत्र पर्छन् । आयोजना क्षेत्रमा उदयपुरका १५ वटा सामुदायिक वन क्षेत्र परेका छन् ।

 

सोलु करिडोर प्रशारण लाइन विस्तारले ओगट्ने ठाउँ वा बस्ती वा घरजग्गा परेको ठाउँमा २०७१ तिर सर्भे भएको थियो । सिराहाको मिर्चैया, उदयपुरको कटारी, लेखानी, घुर्मी, ओखलढुंगाको मानेभन्ज्याङ, ओखलढुंगा सिद्धिचरण नगरपालिका हुँदै सोलुखुम्बुको तिङ्लामा प्रसारण लाइन जोडिनेछ ।

 

उदयपुरका निवर्तमान प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, स्थानीय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीको टोलीले प्रधानमन्त्री केपी ओलीलाई एलाइमेन्ट परिर्वतन गरिदिन ज्ञापनपत्रसमेत बुझाएका थिए । तर, सुनुवाइ भएन ।