close

कोरोना रोकथाम र नियन्त्रणमा अमरगढीका २७ ‘होमवर्क’

नगरप्रमुख ओझा भन्छन्ः जनशक्ति र श्रोतको सही व्यवस्थापन भए जितिन्छ

कोरोना रोकथाम र नियन्त्रणमा अमरगढीका २७ ‘होमवर्क’

नगरप्रमुख ओझा भन्छन्ः जनशक्ति र श्रोतको सही व्यवस्थापन भए जितिन्छ

Trulli
ADVERTISEMENT

डडेलधुरा- अमरगढी नगरपालिकावासीका लागि विपीन ओझा सुख दुःखका नजिकका साथी हुन् । जनताका घरदैलो गरिराख्ने ओझा चार वर्षअघि अमरगढी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि भने देशैभर परिचित छन् ।
 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला एवं कांग्रेसको गढ अमरगढीमा ओझा नेकपा एमालेबाट निर्वाचित प्रमुख हुन् । चारपटक प्रधानमन्त्री भइसकेका देउवाको प्रभाव क्षेत्रमा विजयी हुन सफल भएपछि ओझालाई थप चुनौती आइलागेको थियो । 

 

जनताले विश्वास गरेर निर्वाचन त जिताए अब जनताका पक्षमा देखिने काम कसरी गर्न सकिन्छ ? उनको पहिलो चिन्ता नै यही थियो । तर यो अवधिमा नगरप्रमुख ओझाले नगरवासीलाई निराश पारेका छैनन् । 

 

अमरगढीमा जनताले महशुस गर्ने थुप्रै काम गरेको ओझा बताउँछन् । नगरपालिकाका तर्फबाट नगरवासीका लागि प्रदान गर्नुपर्ने सेवा तथा विकास निर्माणका काममा जनताले खोट लगाउनुपर्ने अवस्था नरहेको दाबी गर्ने ओझा कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारमा अमरगढीले अब्बल काम गरिरहेको बताउँछन् । 


उपचारसँगै निगरानी

नगरपालिका भित्र रहेका ११ वटै स्वास्थ्य संस्था र विद्यालय नर्सिङ कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा कार्यरत नर्सहरूलाई पनि कोरोना संक्रमितको पहिचान र उपचारमा खटाएको नगरप्रमुख ओझा बताउँछन् । 


टोल टोलमा पुगेर संक्रमितहरू स्क्रिनिङ गर्ने, जिल्ला बाहिरबाट आएका मानिसलाई स्वास्थ्य स्वंयसेविका परिचालन गरेर निगरानी गर्ने काम नगरपालिकाले गरिरहेको छ । नगरभित्र प्रवेश गर्ने जोकोहीको पनि ज्वरो तथा ब्लडप्रेसर नाप्ने, ट्राभल हिस्ट्री नोट गरेर कुन ठाउँको मानिस हो त्यसको डिटेल रेकर्ड राख्ने गरिएको ओझा बताउँछन् । कोरोना संक्रमणबाट जोगिने उपयाका बारेमा निरन्तर जनचेतना जगाउने अभियान पनि नगरपालिकाले चलाइरहेको छ । 


सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा रहेका अस्पतालमध्ये डडेलधुरा अस्पताल सुविधाका हिसाबले अब्बल छ । यो अस्पतालमा अन्य जिल्लाबाट पनि बिरामी आउने भएकाले स्वास्थ्यकर्मीहरूलाई आलोपालो खटाएर २४ सै घण्टा उपचार सेवा उपलब्ध गराउने गरिएको उनले बताए । 

 

आइतबार, मंगलबार र शुक्रबार पीसीआर चेक गर्ने गरिएको छ । बाहिरबाट नगर भित्र आएकाहरूको एन्टिजेट टेस्ट गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ । 

 

सुविधाको गाडी एम्बुलेन्स, टिपरमा शव 

नगरपालिकामा भएका दुई वटा गाडीलाई कोरोना नियन्त्रणका लागि प्रयोग गरिएको छ । नगर प्रमुख ओझाले चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिएको छ । 


नगरमा भएको अर्को गाडी नगरपालिकाको स्वास्थ्य युनिटलाई प्रयोग गर्न दिइएको छ । नगरप्रमुख ओझा आफू मोटरसाइकलमा अमरगढीको टोलटोलमा पुगिरहेका छन् । टिपरलाई शव बहान बनाइएको छ । 

 

बिराटनगरबाट अक्सिजन

डडेलधुरा अस्पतालमा अक्सिजनको पूर्ति गर्न नगरप्रमुख ओझाले नेपालगञ्ज र धनगढीबाट टिपरमा अक्सिजन सिलिण्डर लोड गरेर ल्याए । सबैतिर अक्सिजनको हाहाकार भएका बेला जसरी भएपनि अक्सिजन जुटाउनै पर्छ भनेर लागेपछि जुटाउन सफल भएको उनको भनाइ छ । 

 

ओझाले विराटनगरबाट समेत अक्सिजन ल्याएर संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन दिएका छैनन् । 

 

‘कोरोनाको पहिलो लहरबाट केही पाठ सिकिएको थियो । त्यही भएर दोस्रो लहरमा हेलचेक्र्‍याइँ गर्ने भन्ने त प्रश्नै आउँदैन,’ नगरप्रमुख ओझा भन्छन्, ‘संक्रमणको चेनब्रेक गर्नमा नै हाम्रो सम्पूर्ण ध्यान, स्रोत साधन र जनशक्ति परिचालित छ ।’

 

अस्पतालको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन विशेष ध्यान दिइएको बताउने ओझाकै पहलमा डडेलधुरा अस्पतालमा भेन्टिलेटर बेड ५, आइसीयू बेड १५ र एचडीयु बेड २५ वटा थप गरिएको छ । दिनरात नभनी अक्सिजन आपूर्तिमा खटिएको र बेडसंख्या थप्न सकिएकाले अक्सिजन नपाएर कोही पनि संक्रमितको मृत्यु नभएको ओझा बताउँछन् । 

 

नियन्त्रणमा रेस्पोन्स टिम, श्रमसँग जोडेर राहत

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा कोभिड रेस्पोन्स टिम बनाइएको छ । गतवर्ष लकडाउनका बेला ४० लाख रुपैयाँ बराबरको राहत बाँडेको नगरपालिकाले यसवर्ष राहतलाई श्रमसँग जोडेको छ । विपन्न परिवारलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम दिएर आयआर्जनमा समेटिएको ओझाले बताए । कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिनेहरूलाई चाहिने आवश्यक स्वास्थ्य सामग्री अभाव हुन दिइएको छैन । 


नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गणेश विष्ट नगरप्रमुखको संयोजकत्वमा ‘स्थानीय रोग संक्रमण जोखिम न्यूनिकरण समिति’ को निर्णय अनुसार काम गरिरहेको बताउँछन् । 


सामन्य लक्षण भएकाहरूलाई १५ दिनसम्म होमआइसोलेसनमा बस्न भनिएको र गाह्रो हुनेहरूका लागि अस्पतालमा राख्ने गरिएको उनले बताए । जेठ १५ गतेसम्ममा २१६ जना पुरुष र १५५ जना महिलामा कोरोना पोजेटिभ देखिएकोमा १११ पुरुष र ५२ महिला निको भइसकेको जानकारी विष्टले दिए । 

 

कोरोना संक्रमण भयो भने सामाजिक विभेदीकरणमा पर्ने, खेतीपाती गर्ने सिजन भएकाले काम गर्न रोकिने पो हो कि भनेर पनि कतिपय शंकास्पद बिरामी पनि चेक नगरी बसिरहेको पाइएको विष्ट बताउँछन् । 


शंका लागे जाँच, निरनन्तर निगरानी 

नगरपालिकाको तर्फबाट शंकास्पद सबैको चेकजाँच गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनका लागि नगरवासीलाई निरन्तर जनचेतना दिइरहने काम भइरहेको छ । शुद्ध खानेपानीका लागि ४ वटा वडाका ८ सय घरपरिवारलाई पानी छान्ने फिल्टर वितरण गर्न लागिएको जानकारी विष्टले दिए ।

 

संक्रमणबाट जोगिने उपायका बारेमा जनतालाई राम्रोसँग बुझाउन सकियो भने महामारी नियन्त्रण गर्न सजिलो हुने भएकाले व्यक्तिगत तहमा सावधानी अपनाउन नगरपालिकाले नगरवासीलाई अनुरोध गर्दै आएको छ ।


स्थानीय सरकारलाई चाहिने स्रोतसाधन उपलब्ध गराउने तथा प्रदेश र संघले समन्वयकारी भूमिका खेल्ने हो भने महामारी नियन्त्रणको काम प्रभावकारी हुने नगरप्रमुख ओझा बताउँछन् । ‘स्वदेश वा विदेश जतासुकै अप्ठेरो पर्ने बित्तिकै मानिस आफ्नै थातथलो फर्किने गर्छन् ।

 

स्थानीय तहले आफ्नो गाउँठाउँमा को आयो को बाहिर गयो त्यसको रेकर्ड राख्न सक्छ, ओझा भन्छन्, स्थानीय सरकारलाई पर्याप्त स्रोतसाधन र जनशक्ति उपलब्ध हुने हो भने संक्रमणको जालो छिट्टै तोडिन सक्छ ।’