close

उपचार अनुमतिबिनै बिरामी भर्ना गरेका २ मेडिकल सिल 

उपचार अनुमतिबिनै बिरामी भर्ना गरेका २ मेडिकल सिल 

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिकाका २ मेडिकललाई सिल गरिएको छ । तनहुँ प्रशासन र शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले गरेको संयुक्त अनुगमनमा अवैध ठहरिएका २ मेडिकललाई सिल गरिएको हो । 

 

दुलेगौँडा बजारमा सञ्चालित धर्मसेवा मेडिकल हल र फेम्ली मेडिकल हललाई सिल गरिएको शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । क्षेत्राधिकारभन्दा बाहिर गएर बिरामी भर्ना गरी उपचार गराइरहेको अनुगमन टोलीले फेला पारेपछि सिल गरिएको उनले जानकारी दिए ।

 

यी २ मेडिकलले बिरामी भर्ना लिई उपचार गर्ने अनुमति नभए पनि बिरामी भर्ना लिएर उपचार गर्दैगर्दा अनुगमन टोलीले फेला पारेको थियो । ‘७ दिनभित्र स्पष्टीकरणसहित स्वास्थ्य संस्थामा हाजिर हुने भनेका छौँ । सिडिओ कार्यालयको पनि त्यही आदेश छ । उहाँहरूले कस्तो स्पष्टीकरण लिएर आउनुहुन्छ । त्यहीअनुसार नगरपालिकासमक्ष कारबाहीको सिफारिस गर्छौैं’, उनले भने ।

 

स्वास्थ्य संस्था स्थानीय तह मातहात आएपछि पटक–पटक अनुगमन हुँदै आएको छ । सेवाको वहानामा जनस्वास्थ्यमाथि खेलवाड गर्नेलाई कानुनी कारबाही नहुँदा सञ्चालकहरू सुध्रिन नचाहेको उनको भनाइ छ । यहाँको बजार क्षेत्रमा सञ्चालित अस्पताल, पोलिक्लिनिक, मेडिकल, फार्मेसी, आयुर्वेदिक फर्मा, ल्याबलगायत स्वास्थ्य संस्थाको छड्के अनुगमन गरिएको हो ।

 

अनुगमनको सुराकी पाएका केही मेडिकल र फार्मेसी सञ्चालक पसल बन्द गरेर बसेका थिए । अनुगमनमा अधिकांश स्वास्थ्य संस्थाले बिनाइजाजत सञ्चालन गरी सेवा दिइरहेको पाइएको स्वास्थ्य शाखाले जनाएको छ ।