close

ज्यान हत्केलामा राखेर लाइफलाइन सडकको यात्रा

ज्यान हत्केलामा राखेर लाइफलाइन सडकको यात्रा

Trulli
ADVERTISEMENT

उदयपुर- जीर्णावस्थामा रहेको घुमाउरो कच्ची र साँघधुरो कटारी–घुर्मी सडकमा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । ३ दशकअघि निर्माण भएको सिद्धिचरण लोकमार्ग सडक मर्मत र स्तरोन्नति नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

 

माथिल्लो सगरमाथाका ३ जिल्लाको ‘लाइफलाइन’ मानिने सिद्धिचरण लोकमार्ग जीर्ण हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।जीर्णावस्थामा रहेको घुमाउरो कच्ची र साँघुरो सिद्धिचरण लोकमार्गको यात्रा जोखिम र कष्टकर बन्दै गएको छ । जीर्ण सडक मर्मत र स्तरोन्नति हुन नसक्दा दुर्घटनामा बर्सेनि दर्जन बढीले ज्यान गुमाउनु परेको छ । 

 

२४ मंसिर २०७३ मा घुर्मीबाट कटारी आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको ज्यान गयो । १३ कात्तिक २०७४ मा कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको सुमो जिप दुर्घटना हुँदा नेपाली सेनाका १ जवानसहित ९ जनाको ज्यान गयो । 

 

१ असोज २०७५ मा काठमाडौंबाट कटारी हुँदै ओखलढुंगाका लागि जाँदै गरेको सुमो जिप दुर्घटना हुँदा २ अस्ट्रेलियन नागरिकको ज्यान गयो भने ७ जना घाइते भए । गत वर्षको २ कात्तिकमा स्कार्पियो दुर्घटना हुँदा एकै गाउँका ५ जनाको ज्यान गयो ।

 

यी केही उदाहरण मात्र हुन् । यस्ता दुर्घटना सिद्धिचरण लोकमार्ग खुलेयता महिनैपिच्छे हुने गरेको प्रहरीको तथ्यांकमा देखिन्छ । स्थानीय अझै पनि जीवन हत्केलामा राखी जोखिम र कष्टकरपूर्ण यात्रा गर्न बाध्य छन् ।

 

सडक दुर्घटना सिद्धिचरणको कटारी–घुर्मी सडक खण्डको ४६ किलोमिटर क्षेत्रमा बढी हुने गरेका छ । पूर्व–पश्चिम राजमार्गको सिराहा मिर्चैयादेखि उदयपुरको घुर्मीसम्म सिद्धिचरण लोकमार्गको ७२ किलोमिटर सडक खण्ड जीर्ण छ । 

 

वर्षौंदेखि बिग्रिएको सडक मर्मत नहुँदा यात्रुले दुर्घटनामा परेर बर्सेनि ज्यान गुमाउनुपरेको छ । इलाका प्रहरी कार्यालय कटारीको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा कटारी/घुर्मी खण्डमा मात्रै ५० बढीले ज्यान गुमाएका छन् ।

 

झन्डै अढाई सय बढी सर्वसाधारण अंगभंग भएका छन् । घुमाउरो, जीर्ण र साँघुरो पहाडी लोकमार्ग समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

 

सवारीबाहेक पैदल यात्रा गर्ने सर्वसाधारण झनै जोखिममा छन् । साँघुरो सडकका कारण पैदल यात्रीलाई सवारी साधनले ठक्कर दिँदा चालू आर्थिक वर्षको अहिलेसम्म ७ जनाले ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठूला सवारी साधनले ठक्कर दिँदा ३ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा छ ।

 

४ वर्षयता सिद्धिचरण लोकमार्गमा भएका ठूला सडक दुर्घटनामध्ये १३ कात्तिक २०७४ मा कटारी नगरपालिका वडा नम्बर ११ को ठाँटी पहिरोमा बोलेरो दुर्घटना हुँदा १ महिलासहित ९ जनाले ज्यान गुमाए । त्यसैगरी २४ मंसिर २०७३ मा लेखानीस्थित चनौटेमा घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १ महिलासहित ६ जनाले ज्यान गुमाएका थिए ।

 

२०४८ मा निर्माण सुरु भई २०५८ मा निर्माण सम्पन्न भएको सिद्धिचरण लोकमार्ग नेपाली सेनाले निर्माण गरेको हो । निर्माणपछि सडक मर्मतको नाममा करोडौँ रकम खर्चिए पनि खाल्डाखुल्डी जस्ताको तस्तै रहेको कटारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दीपक बुढाथोकी क्षेत्रीले गुनासो गरे ।

 

लोकमार्गको कटारी नगरपालिका क्षेत्रको ठाँटी, लेखानीको लप्सेभीर, सिरिसेको वनदेवीलगायतका स्थानमा यात्रा गर्दा यात्रुले आँखा चिम्लनुपर्ने अवस्था छ ।

 

सिद्धिचरण लोकमार्ग माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुंगा र सोलुखुम्बुलाई तराईसँग जोड्ने एक मात्र सडक हो । माथिल्लो सगरमाथाका ३ जिल्लाका करिब ६ लाख सर्वसाधारणले प्रयोग गर्ने लाइफ लाइन सडक हो, सिद्धिचरण लोकमार्ग ।

 

तर, स्तरोन्नति नहुँदा ती क्षेत्रमा सर्वसाधारणले यात्रामा सास्ती खेप्दै आएका छन् । जीर्णावस्थामा रहेको घुमाउरो कच्ची र साँघुरो सडक भएकाले २ घन्टामा सहजै पार गरिने कटारी–घुर्मी खण्ड सार्वजनिक यातायातमा चढेर यात्रा गर्दा ६ घन्टा लाग्छ ।

 

साँघुरो सडक, त्यसमा पनि बीच–बीचमा खाल्डाखुल्डीसँगै पहिरोको जोखिम उस्तै छ । कटारी–घुर्मी ४६ किलोमिटर यात्रा गर्ने यात्रुले घुर्मीसम्म नपुगेसम्म त्रासमै यात्रा गर्नुपर्ने बाध्यता छ । 

 

पहाडी सडक, त्यसमा पिच भत्किएर कच्ची भएकाले यात्रा अवधिभर त्रासले मुटु चिसो हुने गरेको यात्रु बताउँछन् । ‘कटारीदेखि बेतेनीसम्म चढ्दा मुटुले ठाउँ छाडेको भान हुन्छ,’ कटारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कमल श्रेष्ठ भन्छन् । 

 

लोकमार्गको स्तरोन्नति नहुँदा उदयपुरको मुख्य व्यापारिक केन्द्र कटारी बजारको व्यापार व्यवसायसमेत घटेको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले बताए । ‘कटारी बजारको मुख्य कारोबार हुने क्षेत्र सोलु, ओखलढुंगा र खोटाङ हो,’ उनले भने, ‘ती क्षेत्रमा जाने एउटा मात्र सडक सिद्धिचरण नै जीर्ण भएपछि कटारीको व्यापार व्यवसाय चौपट भएको छ । व्यापार व्यवसाय नचल्दा कटारी बजारबाट व्यापारी पलायन हुने अवस्था छ ।’

 

भौगोलिक अवस्थाको अध्ययन नै नगरी लोकमार्ग निर्माण गरिएकाले पनि अहिले समस्या आएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् । ‘सडकको अहिलेको अवस्था हेर्दा भौगोलिक अवस्थाको अध्ययन नै नगरी बनाइएकोजस्तो देखिन्छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘हचुवाको भरमा लोकमार्ग निर्माण हुँदा अहिले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।’

 

कटारी बजार हुँदै तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारी पैदल सगरमाथा चढ्न गएकाले कटारीलाई सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ । पूर्वी नेपालसँगै भारत, भुटान, बंगलादेशलगायतका पर्यटक सगरमाथा क्षेत्र एवं पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी आउने तीर्थ यात्री र पर्यटकले सिद्धिचरण लोकमार्ग प्रयोग गर्छन् ।

 

२०३४ मै सिराहाको मिर्चैयाबाट कटारी २६ किलोमिटर सडक जोडिएको कटारीबाट घुर्मी २०४८ मा निर्माण सुरु भएको थियो । त्यसपछि निर्माण भएको लोकमार्गको कटारी–घुर्मी ४६ किलोमिटर सडक स्तरोन्नति नहुँदा जीर्णावस्थामा छ ।

 

सिद्धिचरण जीर्ण भएपछि पूर्वी नेपालसँगै भारत, भुटान, बंगलादेशलगायतबाट आउने पर्यटक हलेसी र विश्वको सर्वोच शिखर सगरमाथा रहेको खुम्बु क्षेत्र जान  मिर्चैया–बर्दिबास हुँदै खुर्कोट–घुर्मी १ सय ५० किलोमिटर घुमेर यात्रा गर्न बाध्य छन् ।

 

सिद्धिचरण लोकमार्ग स्तरोन्नतिका लागि स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आए पनि सुनुवाइ भएको छैन । सरकारले संघर्ष समितिको माग सम्बोधन गर्ने भन्दै पटक-पटक वार्ता गरी सहमति गरेको थियो । 

 

तर, सहमतिअनुरूप काम हुन सकेन । आगामी आर्थिक वर्ष पनि सरकारले सडक स्तरोन्नतिका लागि बजेट व्यवस्था नगरेको स्थानीयको आरोप छ ।