close

एमाले बैठकः ४ दिनसम्म भरे-भोलि पाँचौँ दिनमा अनिश्चित !

यस्तो छ म्यासेजको रोचक फेहरिस्त 

एमाले बैठकः ४ दिनसम्म भरे-भोलि पाँचौँ दिनमा अनिश्चित !

यस्तो छ म्यासेजको रोचक फेहरिस्त 

Trulli
ADVERTISEMENT

काठमाडाैं- नेकपा एमालेका स्थायी कमिटी सदस्यको मोवाइलमा हरेक दिन एउटा ‘म्यासेज’ आउँछ । म्यासेजको व्यहोरामा पालैपालो लेखिएको हुन्छ– ‘आज बैठक छ’, ‘आज स्थागित भो’, ‘आजै अर्को समयमा बैठक बस्छ ।’ सन्देश लेख्ने व्यक्ति हुन एमाले केन्द्रीय कार्यालयका सचिव शेर बहादुर तामाङ । 

 

यो सन्देश किन आयो भन्ने विषयमा चर्चा गर्नुअघि एकपटक एमाले विवादको पछिल्लो अवस्थालाई हेरौं । 

 

१० जेठमा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्यो । सोही दिन बसेको बैठकले थप नेतालाई कारवाहीका लागि भन्दै ‘अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय गर्यो । 

 

आन्तरिक टकरावमा रहेको एमालेभित्र विभाजनको औपचारिक घोषणा गरेको यो स्थायी कमिटी बैठक यतिमै रोकिएन । स्पष्टीकरण सोधिएका नेताले जवाफ नबुझाएपछि कारवाहीका लागि बैठकको नयाँ मिति तय भयो । 


बैठकको मिति तय भएलगत्तै एमालेका दोस्रो तहका दुवै खेमाका नेता एकता जोगाउने भन्दै बार्तामा बसे । खनाल नेपालसहितका नेतालाई कारवाही गरिएको बताएका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नै पालिकाखबरसँग कुरा गर्दै पुनः एकताको पहल सुरु भएको बताए । 

 

खनाल नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्टलगायतका नेता र ओली खेमाका इश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका नेताबीच वार्ता सुरु भयो । 

 

कहिले सकारात्मक जस्तो त कहिले मिल्नै नसकिने बिन्दुमा कुराकानी गर्दै उठ्दै गरे नेताहरु । यहीबीचमा पार्टीको संस्थापन पक्षले १५ जेठका लागि स्थायी कमिटीको बैठक डाक्यो । बैठकको एजेण्डा थियो– स्पष्टीकरण सोधिएका नेताहरुमाथि कारवाही गर्ने । 

 

बैठक डाकिएकै दिनवाट दुबै पक्षका नेताहरुबीच घनिभूत भनिएको वार्ता र छलफल सुरु भएपछि एमालले हरेक दिन बैठक डाक्दै स्थगित गर्दै आइरहेको छ । आज (बिहीबार) भने एमालले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थागित गरेको छ । 

 

यस्तो छ बैठकमा निमन्त्रणाको रोचक फेहरिस्त 

स्पष्टीकरण सोधिएका नेतामाथि कारवाही गर्ने एजेण्डासहित एमालेले १५ जेठका लागि बैठक बोलायो । बैठकमा खबर गर्ने जिम्मा कार्यालय सचिव तामाङलाई छ । 

 

तामाङले १५ गते दिउँसो १२ बजेर ३८ मिनेटमा स्थायी कमिटी सदस्यलाई एकसाथ मोवाइलमा सन्देश पठाए । सन्देशमा लेखिएको छ– एमाले स्थायी कमिटीको बैठक आज ५ बजे बालुवाटार । 

 

सोही दिन दिउसो २ः४४ मा स्थायी कमिटी सदस्यको मोवाइलमा तामाङको अर्को सन्देश आयो– आज ५ बजे बस्ने भनिएकोमा भोलि १६ गते बिहान १० बजे बालुवाटारमै हुनेछ । 

 

बैठक सरेको सुचना आएपछि कतिपय वालुवाटार पुगेका नेता त्यतिकै फर्किए भने कतिपय अर्को दिन को बैठकमा जाने तयारीमा जुटे ।  १० बजे बैठकमा जान तयारी गर्दागर्दै फेरि अर्को खबर आयो– १० बजेको बैठक अपरान्ह ५ बजेलाई सर्‍याे ।

 

अन्तत स्थायी कमिटी सदस्यको मोवाइलमा तामाङले अर्को सन्देश पठाए– एमाले स्थायी कमिटीको बैठक आज ५ बजे हुने भनिएकोमा भोलि १७ गते बिहान १० बजे बालुवाटारमै हुनेछ । 

 

स्थायी कमिटी सदस्य त्यसवेला रणभुल्लमा परे, जव तामाङले लेखेको अर्को सन्देश मोवाइलमा बज्यो । १० बजेको बैठकमा जान ठिक्क परेका  स्थायी कमिटी सदस्यहरुको मोवाइलमा बिहान ८ः १२ बजे आएको सन्देश थियो– अहिले १० बजे भनिएको स्थायी कमिटीको बैठक भोलि १८ गते वालुवाटारमा ११ बजे । 

 

तर सन्देश अनुसार भोलिपल्ट अर्थात १८ गते बैठक बसेन । स्थायी कमिटी सदस्यले बैठक स्थगित भएको सन्देश पनि पाएनन् तामाङबाट ।  बैठक नभएको सन्देश नपाएपछि बालुवाटार पुगेर नेताहरु त्यत्तिकै फर्किए ।

 

दिउँसो १ः२३ बजे फेरि स्थायी कमिटी सदस्यको मोवाइलमा  अंग्रेजीमा लेखिएको अर्को छाटो म्यासेज आयो– युएमएल स्ट्यान्डिङ कमिटी मिडिङ फोर पिएम बालुवाटार । 


यो सन्देश अनुसार ४ बजेको बैठकमा जाने तयारीमा जुट्दा जुट्दै तामाङको मोवाइलबाट  दिउसो ३ः२० मा अर्को सन्देश आयो– आज ४ बजे स्थायी कमिटीको बैठक भोलि २० गते ४ बजे बालुवाटारमा हुने । 

 

तर आज स्थायी कमिटीका सदस्य त्यसबेला अचम्ममा परे जव २ः १४ मा तामाङकै मोवाइलबाट अर्को सन्देश आयो । 


सन्देशमा लेखिएको रहेछ– एमाले स्थायी कमिटीको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको  जानकारी गराइन्छ । 

 

एमाले बैठक अनिश्चितकालका लागि स्थगित भएको २ घण्टापछि पालिकाखबरकर्मीको फेसबुक म्यासेन्जरमा धेरैवटा स्क्रिनसट आए । 

 

एमालेकै एकजना स्थायी कमिटी सदस्यले पठाएको स्क्रिनसटसँगै लेखिएको छ, ‘पार्टी नेताले अति गरे सक्नुहुन्छ भने मेरो नाम नखुलाई यो म्यासेजको स्क्रिनसट सहित एउटा समाचार लेखिदिनू न ।’