close

संक्रमितका घर–घरमा खोटाङका सरकार 

संक्रमितका घर–घरमा खोटाङका सरकार 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधि कोभिड–१९ बाट संक्रमितको भेटघाटमा जुटेका छन् ।


संक्रमण पूष्टि भएपछि होमआइसोलेसनमा बसिरहेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, आवश्यक परामर्श दिन गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, अस्थायी कोभिड अस्पतालका डा. प्रमोदकुमार यादव, सुरक्षाकर्मीलगायतको टोली भेटघाटमा जुटेको हो ।

 

जनप्रतिनिधिसहितको टोलीले खोटेहाङ गाउँपालिका वडा नम्बर १ लिकुवापोखरी, वडा नम्बर ८ सिमपानीलगायतका वडाका संक्रमितलाई भेटिसकेको छ ।

 

भेटघाटका क्रममा संक्रमितको श्वासप्रश्वासमा समस्या भए वा स्वास्थ्यमा जटिल समस्या देखिए उपचारमा पठाउने व्यवस्था मिलाउने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

कतिपयलाई एम्बुलेन्समा राखेर अस्थायी कोभिड अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा पठाउने गरिएको छ । 

 

खोटेहाङ गाउँपालिकाका स्वास्थ्य संस्थामा एन्टिजेन परीक्षण व्यवस्था मिलाइएको छ । स्वास्थ्य संस्थामा जान नसक्ने बिरामीको परीक्षणका लागि भने स्वास्थ्यकर्मीलाई घरैमा पठाउने गरिएको गाउँपालिकाले जनाएको छ ।

 

‘संक्रमण पुष्टि भएपछि हामी संक्रमितको भेटघाटमा घरघरमै पुग्ने कोसिस गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘भेटघाटका क्रममा संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, आवश्यक सरसल्लाह दिने गरेका छौँ ।’ 

 

एन्टिजेन परीक्षण गराउन टोल–टोलमा नगरप्रमुख–उपप्रमुख 

 

हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि पनि एन्टिजेन परीक्षणका लागि संक्रमित क्षेत्रमा स्वास्थ्यकर्मीसहित पुगिरहेका छन् । नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई ज्वरो आउने, टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या भएका बिरामी भएको गाउँमा स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षणका लागि गाउँटोल घुमिरहेका छन् ।

 

नगरप्रमुख राई एन्टिजेन परीक्षणका लागि नगरको अर्खौले, नवलपुरलगायत ठाउँ पुगिसकेका छन् । उपप्रमुख राई पनि बिरामीको एन्टिजेन परीक्षणका क्रममा ओफ्लाङ, च्यास्मिटार, बडहरे, सल्ले, धितुङलगायतका वडामा पुगेकी छन् ।

 

संक्रमणको आशंकामा खबर आएलगत्तै नगरप्रमुख वा उपप्रमुख स्वास्थ्यकर्मी लिएर प्रभावित क्षेत्रमा जान थालेको स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । 

 

बिरामीको उद्धारमा गाउँपालिका अध्यक्ष 

 

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई बिरामीको उद्धारमा खटिएका छन् । आफैं गाडी चलाउने अध्यक्ष राईले पिपिई पहिरिएर बिरामीलाई वडा नम्बर १ याम्खास्थित अस्थायी कोभिड अस्पतालसम्म पुर्‍याउने र एन्टिजेन परीक्षण गराउँदै आएका छन् ।

 

अध्यक्ष राईले बिरामीलाई घरमा लिन जाने, डो¥याएर वा पिठ्युँमा बोकेर बिरामीलाई गाडीसम्म पु¥याएर अस्थायी कोभिड अस्पतालमा लैजाने गरेका छन् । कोभिड–१९ को महामारी फैलिएपछि बिरामीको उद्धार गर्ने, अस्थायी कोभिड अस्पतालमा लगेर एन्टिजेन परिक्षण गर्ने, संक्रमण पुष्टि भए स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनमै दिन बित्ने गरेको गाउँपालिका अध्यक्ष राईले बताए ।

 

गाउँपालिका अध्यक्ष राईले बुधबार मात्र याम्खा खामडाँडाकी ८८ वर्षीया वृद्धा संक्रमितलाई ढाडमा बोकेर गाडीमा हालेर अस्थायी कोभिड अस्पताल लगेका थिए । 

 

दिप्रुङ चुइचुम्माका ७ वटै वडामा कार्यतालिका बनाएर एन्टिजेन परीक्षण गरिएको थियो । निर्धारित समय तालिकाअनुसार वडा–वडामा एन्टिजेन परीक्षणपछि बिरामी भएको खबर आएका ठाउँमा एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीसहित पुग्ने र गम्भीर अवस्थाका बिरामीलाई गाडीमा हालेर अस्थायी कोभिड अस्पताल पुर्‍याउने गरिएको छ । 

 

गाउँपालिकाको गाडी र एम्बुलेन्स चलाउन २ जना चालक नियुक्त गरेको छ । एम्बुलेन्सका चालक कोभिड संक्रमण भएर होम आइसोलेसनमा छन् । गाउँपालिकाको गाडी चालक पनि पारिवारिक समस्याले बिदामा बसेपछि आफैंले गाडी चलाएर बिरामीको उद्धारमा खटिँदै आएको गाउँपालिका अध्यक्ष राईले बताए ।