close

काठमाडौं महानगरमा एन्टिजेन परीक्षण निरन्तर

काठमाडौं महानगरमा एन्टिजेन परीक्षण निरन्तर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले एन्टिजेन परीक्षणलाई पुनः निरन्तरता दिएको छ । कोरोना महामारी नियन्त्रणमा आउन नसकेपछि महानगरले बिहीबारदेखि एन्टिजेन परीक्षणलाई निरन्तता दिएको हो ।


यसका लागि प्रत्येक वडाले केन्द्र बनाएर परीक्षण गर्ने महानगरको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । 

 

उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लैजाने योजनाअनुरूप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरले बताए ।

 

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्र पंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समय काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागिएको हो ।

 

लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरले आग्रह गरेको छ ।

 

कोरोनाको शंका भएका जोकोहीले महानगरका ३२ वडामध्ये जुनमा सहज हुन्छ, सोही वडामा जानकारी गराउन सकिने महानगरले बताएको छ । परीक्षण टोलीले नजिकको परीक्षण केन्द्रबाट जाँच गर्नेछ ।


यसअघि महानगरले १४ देखि १८ जेठसम्म विशेष अभियान सञ्चालन गरेर ५० हजारको परीक्षण गर्ने लक्ष्य लिएकामा ५७६० जनाले मात्र परीक्षण गरेका थिए ।


तीमध्ये ४७९ को रिपोर्ट पोजेटिभ आएको महानगरले जानकारी दिएको छ । 


महानगरले ठूलो संख्यामा एन्टिजेन परीक्षण गर्ने योजना बनाए पनि निषेधाज्ञाका कारण लक्ष्यअनुसार परीक्षण हुन नसकेको विभागले बताएको छ ।