close

फुङ्लिङका विद्यालयलाई नतिजा प्रकाशन गर्न परिपत्र

फुङ्लिङका विद्यालयलाई नतिजा प्रकाशन गर्न परिपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले वार्षिक परीक्षा सञ्चालन भएका विद्यालयले पुस्तिका परीक्षणको आधारमा र अन्यको हकमा ५ वटा क्षेत्रलाई आधार मानेर नतिजा प्रकाशन गर्न नगरभरका विद्यालयलाई परिपत्र गरेको छ ।


शिक्षा अधिकृत प्रकाश पौडेलका अनुसार कोभिड-१९ को संक्रमणका कारण विद्यालय तहको केही विषयका वार्षिक परीक्षा स्थगित भएको र तत्काल विद्यार्थी भौतिक रूपमा उपस्थित भई परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै आन्तरिक तवरले २७ जेठभित्र परीक्षाको वार्षिक नतिजा सार्वजनिक गर्न परिपत्र गरिएको हो ।

 

उनका अनुसार नगर शिक्षा समितिको शुक्रबारको बैठकले शैक्षिक सत्र २०७७ को विद्यालय तहको कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीको नतिजा विद्यालयले प्रकाशन गर्नुपर्ने निर्णय लिएको हो ।

 

वार्षिक परीक्षा सञ्चालन भएका विद्यार्थीको हकमा उत्तरपुस्तिका परीक्षणको आधार र बाँकीको हकमा मूल्यांकन गर्दा अपनाइने विधिसमेत नगरपालिकाले विद्यालयलाइ दिएको छ । मूल्यांकन गर्दा पहिलो त्रैमासिक परीक्षालाई २० प्रतिशत, अर्धवार्षिक परीक्षालाई ५० प्रतिशत, कक्षा सहभागिता तथा हाजिरीलाई १० प्रतिशत, अनुशासनलाई १० प्रतिशत र अतिरिक्त क्रियाकलापलाई १० प्रतिशत हुने गरी आधार मानेर विद्यालयले नतिजा प्रकाशन गर्नुपर्नेछ ।