close

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण 

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण 

Trulli
ADVERTISEMENT


एजेन्सी -  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै आफूलाई कोरोना भाइरस संक्रमण भएको घोषणा गरेका छन् । ट्रम्प पत्नी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण देखिएको छ ।


कोरोना संक्रमणबाट बच्नका लागि विज्ञहरुले जारी गरेको निर्देशिकालाई ट्रम्पले सुरुमा मजाकमा उडाएका थिए । तर, निर्वाचन अभियानले तीव्रता पाइरहेका बेला उनी एक्कासि संक्रमित भए । 


यसअघि आफ्ना सहयोगी होप हिक्समा कोरोना संक्रमण देखिएपछि ट्रम्पले बिहीबार राती क्वारेन्टाइन बस्ने योजना सुनाएका थिए । उनले भाइरसको फैलावटलाई लिएर पनि हल्का टिप्प्णी गरेका थिए ।


यसअघि ट्रम्पले भाइरस छिट्टै बेपत्ता हुन सक्ने दाबीसमेत गरेका थिए, जबकि ह्वाइट हाउसकै स्वास्थ्य विज्ञहरुले यी दाबीमा कुनै सत्य नरहेको टिप्पणी गरेका थिए ।


पदमै रहेका बेला गम्भीर रोगबाट प्रताडित हुने ट्रम्प पहिलो राष्ट्रपति हुन् । ७४ वर्षका ट्रम्पमा कोरोना संक्रमणको खबर फैलिएसँगै अमेरिकामा शेयर बजार ओरालो लागेको छ  ।


अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख बढीले ज्यान गुमाएका छन् भने ७४ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।


ट्रम्प र उनका धेरैजसो सहयोगीले सामाजिक दूरी र मास्क लगाउने काम गरेका थिएनन् ।


गत मंगलबार साँझ भएको राष्ट्रपति बहसमा ट्रम्पले डेमोक्रेट्रिक पार्टीका उम्मेदवार जो बाइडेनलाई निरन्तर मास्क लगाएको भन्दै जिस्क्याएका थिए । राष्ट्रपतिमा कोरोना परीक्षण पुष्टि भएपछि ह्वाइट हाउसले शुक्रबारका धेरै कार्यक्रम स्थगित भएको घोषणा गरेको छ ।