close

लागूऔषध बेच्ने औषधी व्यवसायी संघका महासचिवको फार्मेसी सिल

लागूऔषध बेच्ने औषधी व्यवसायी संघका महासचिवको फार्मेसी सिल

Trulli
ADVERTISEMENT

उदयपुर– औषधी व्यवस्था विभाग विराटनगरको टोलीले अनुगमनका क्रममा औषधी पसलबाट लागूऔषध कारोबार भएको भेटिएपछि उदयपुरको एक फार्मेसी सिल गरेको छ ।

 

औषधी पसलबाट लागूऔषध बिक्री वितरण गरेको खुलेपछि उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ हडियास्थित गोपीकृष्ण मेडिकल सिल गरेको हो । 

 

गोपीकृष्ण मेडिकल सञ्चालक वीरेन्द्रकुमार झाले औषधीसँगै नशालु लागूऔषध बिक्री वितरण गरेको भन्दै पसल सिल गरिएको हो । औषधी व्यवसायीबाटै लागूऔषाध बिक्री वितरण गरेको फेला परेपछि विभागले फार्मेसी सिल गरेको हो । झा औषधी व्यवसायी संघ उदयपुरका महासचिव पनि हुन् ।

 

औषधी व्यवस्था विभाग विराटनगरको टोलीले जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी र बेलका नगरपालिकाका औषधी पसलमा छड्के चेक गर्दा यस्तो तथ्य फेला परेको हो ।  झाले आप्mनो फार्मेसीबाट विद्यालय, क्याम्पस पढ्दै गरेका १५–१६ वर्ष उमेरका किशोरलाई बिक्री गरेको भन्ने उजुरी परेपछि छड्के चेकजाँच गर्दा पुष्टि भएको हो । 

 

झालाई १ वर्षअघि पनि विभागले लागूऔषध घटनामा पक्राउ गरी २५ दिन कारबाही गरी छाडेको थियो । पुनः दोहोरिएकाले औषधी ऐन, २०३५ अनुसार थप कारबाही हुने विभागले जानकारी दिएको छ । टोलीले उनको फार्मेसी सिल गरी ५ दिनभित्र विभागमा हाजिर हुने गरी पत्राचार गरेको छ ।

 

टोलीले बिहीबार नै बिनाइजाजत, मापदण्डविपरीत सञ्चालन गरिएका थप ५ वटा औषधी पसल पनि सिल गरेको छ । डेढ दर्जन औषधी पसलमा गरिएको चेकमा ६ वटामा सिल गरिएको हो । अनुगमन टोलीलाई देखेपछि पसल बन्द गरी फरार भएका ३ वटालाई प्रहरीमार्फत पत्र काटिएको छ । 

 

टोलीले तोकिएको जनशक्ति र नवीकरण नगरी सञ्चालन गरिएका बेलका नगरपालिका वडा नम्बर ४ सञ्जीवनी मेडिकल, सोही ठाउँमा बिनादर्ता सञ्चालित यादव मेडिकल, ठाउँसारी र जनशक्ति बेगर सञ्चालित सोही ठाउँको बराहा क्षेत्र फार्मेसीलाई सिल गरिएको छ ।

 

त्यसैगरी रामपुर सामुदायिक अस्पताल नजिक रमानन्द यादवले दर्ता नगरी सञ्चालन गरेको नाम बेगरको औषधी पसल र सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरस्थित अनुकूल औषधी पसलसमेत सिल गरिएको छ ।

 

जनशक्ति नभएको र एलोपेथिकको अनुमति लिएर आयुर्वेदिकलाई प्राथमिकता दिई धेरै औषधी बिक्री गरेको फेला परेपछि अनुकूललाई सिल गरिएको हो ।

 

कोभिड–१९ को अवस्थामा सरकारको उपस्थिति कम हुँदा औषधी पसलले जथाभावी औषधीको मूल्य बढाएको, बिक्री गरेको, पसलबाटै लागूऔषधको कारोवार गर्ने गरेको विभागमा उजुरी परेका कारण छड्के चेकजाँचलाई तीव्रता दिइएको विभागको भनाइ छ ।