close

स्थानीय तहबारे जान्नैपर्ने तथ्य !

स्थानीय तहबारे जान्नैपर्ने तथ्य !

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालको संविधान २०७२ ले मुलुकलाई ३ प्रकारका संरचनामा विभक्त गरेको छ । संघीय, प्रदेश र स्थानीय तह गरी ३ प्रकारका संरचनामार्फत संविधान कार्यान्वयन भइरहेको छ । ३ तहकै सरकारको काममा हस्तक्षेप नहुने ग्यारेन्टी संविधानले गरेको छ । 


तर, शासन सञ्चालन प्रक्रियामा यतिबेला संघसँग प्रदेश र प्रदेशसँग स्थानीय तहका केही गुनासा छन् । अधिकार बाँडफाँट गरिए पनि ३ वटै तहमा समन्वय नहुँदा एकअर्काबीच कहिलेकाहीँ असमझदारी बढेको देखिन्छ । जस्तोः संघले आफ्नाे कार्यक्षेत्र नाघेर प्रदेशले पाएको अधिकारी संकुचन गर्ने र प्रदेशले स्थानीय तहको अधिकार कुल्चिँदा संघीयताको मर्मविपरीत काम पनि भइरहेका छन् । 


संविधानले घोषणा गरेको स्थानीय तहबारेको जानकारी यसरी लिन सकिन्छ :

 

स्थानीय तह भनेको के हो ?
नेपालको संविधानअनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्लासभा हो । यी संरचनामार्फत स्थानीय सरकारले आ–आफ्ना राजनीतिक, प्रशासनिक, आर्थिकलगायत काम गरिरहेका हुन्छन् ।

 

गाउँपालिका भनेको के हो ?
गाउँपालिका एक भौगोलिक र शासकीय तह हो । साँधसीमा छुट्याएर गाउँपालिकाको प्रशासनिक कार्य विभाजन गरिएको हुन्छ । गाउँपालिका सरकार पनि संघीय र प्रदेशजस्तै सरकार चलाउने संयन्त्र हो ।

 

गाउँ कार्यपालिका भनेको के हो ?
गाउँपालिकाको कार्यकारिणी अंग गाउँ कार्यपालिका हो । यसले नीति निमय बनाउनेदेखि पालिकाको विकास निर्माणलाई ध्यानमा राखेर काम गरिरहेको हुन्छ ।

 

गाउँसभा भनेको के हो ?
गाउँपालिकाको व्यवस्थापकीय कार्य गर्ने अंग गाउँसभा हो । यो अंगमार्फत निर्वाचित जनप्रतिनिधिले आ–आप्mना योजना कार्यान्वयनमा लगेर नागरिकलाई घरदैलो सरकारको अनुभूति दिन सक्छन् ।

 

नगरपालिका भनेको के हो ?
नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाइ हो । गाउँपालिका गठनजस्तै जनसंख्या, आर्थिक अवस्थालगायतलाई आधार मानेर नगरपालिका गठन गरिएको हुन्छ ।

 

नगरकार्यपालिका भनेको के हो ?
नगरपालिकाको कार्यकारिणी अंग नगर कार्यपालिका हो । यो नगरपालिकामा निर्वाचित जनप्रतिनिधि समेटेर बनाइएको संयन्त्र हो । 

 

नगरसभा भनेको के हो ?
नगरपालिकाको व्यवस्थापकीय कार्य गर्ने अंग नगरसभा हो । यसले प्रशासनिक निर्देशन, आर्थिक व्यवस्थापनलगायत कार्यमा अन्तिम निर्णय गर्छ । 

 

गाउँसभा कसरी बन्छ ?
गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष, गाउँपालिकाभित्रका वडाका वडा अध्यक्षहरू, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दलित) सहित ४ जना सदस्य रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिकाभित्रका दलित या अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यसमेत मिलेर गाउँसभा बन्छ ।

 

दलहरूले महिला वडा सदस्यमा उम्मेदवारी दिँदा कसरी दिनुपर्छ ?
२ जना महिला वडा सदस्यका लागि दलहरूले मनोनयनपत्र दर्ता गर्दा १ जना दलित महिलाको नाम समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था छ भने १ जना मात्र महिला सदस्यका लागि मनोनयनपत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समावेश नगरे पनि हुने व्यवस्था छ ।

 

गाउँ कार्यपालिका कसरी बन्छ ?
गाउँ कार्यपालिकामा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरू, गाउँसभाले आफूमध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरू र दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका २ जना सदस्यहरू मिलेर गाउँ कार्यपालिका बन्छ ।


नगरसभा कसरी बन्छ ?
नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख, नगरपालिकाभित्रका वडाका वडा अध्यक्षहरू, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिलासहित ४ जना सदस्य र सम्बन्धित नगरपालिकाभित्रका दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका ३ जना सदस्यहरू मिलेर नगरसभा बन्छ ।

 

नगर कार्यपालिका कसरी बन्छ ?
नगर कार्यपालिकामा १ जना प्रमुख, १ जना उपप्रमुख, नगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरू, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरू र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका ३ जना सदस्य मिलेर नगर कार्यपालिका बन्छ ।

 

गाउँसभा र नगरसभाको कार्यकाल कति वर्षको हुन्छ ?
गाउँसभा र नगरसभाको कार्यकाल ५ वर्षको हुन्छ । गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगाडि सदस्यको निर्वाचन हुन्छ ।

 

जिल्लासभा कसरी बन्छ ?
सम्बन्धित जिल्लाभित्र रहेका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख र उपप्रमुखहरू सदस्य रहेको जिल्लासभा बन्छ ।

 

जिल्लासभाले के काम गर्छ ?

जिल्लासभाले जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ । जिल्लाभित्रका विकास तथा निर्माणसम्बन्धी कार्यको अनुगमन गर्ने र जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने काम गर्दछ ।

 

जिल्ला समन्वय समिति कसरी बन्छ ?
जिल्लासभाले १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तीमा ३ जना महिला र १ जना दलित वा अल्पसंख्यकसहित बढीमा ९ जना सदस्य निर्वाचित गरी जिल्ला समन्वय समिति बनाउँछ ।

 

जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यमा क-कसले उम्मेदवारी दिन पाउँछन् ?
जिल्लासभाका सदस्यहरूका साथै जिल्लाभित्रका गाउँसभा र नगरसभाका सदस्यहरूले समेत उम्मेदवारी दिन पाउँछन् ।


जिल्ला समन्वय समितिले के काम गर्छ ?

  • जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने ।
  • विकास तथा निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने ।
  • जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने ।