close

फुसको छाना हटाउँदै चौदण्डीगढी

फुसको छाना हटाउँदै चौदण्डीगढी

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकाले फुसको छाना हटाई टिनको छानो लगाउन जस्तापाता उपलब्ध गराउने भएको छ । गत १४ जेठमा बसेको सुरक्षित नागरिक आवास समान्वय समितिको बैठकबाट २६७ फुसको छानो हटाउने निर्णय भएको हो । चौदण्डीगढी नगरपालिकाभित्र रहेका गरिब तथा विपन्न ४२० घरधुरी छन् ।

 

सहरी विकास तथा भवन निर्माण डिभिजन राजविराजले सुरक्षित नागरिक आवास, २०७७ पहिलो संशोधनको आधारमा चौदण्डीगढी नगरपालिकाका ३०५ घरधुरीलाई जस्तापाता उपलब्ध गराइने जनाएको छ ।

 

नगरभित्रका ३०५ घरधुरीले जस्तापाता पाउनेछन् । वडा नम्बर ५ का फुसको छाना हुनेको नामावली समयमा नगरपालिकामा उपलब्ध नहुँदा हाल वडा नम्बर ५ बाहेकका सबै वडा २६७ घरधुरी लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

 

मापदण्ड पुगेका १० वटै वडाका २६७ घरपरिवारलाई जस्तापाता वितरण गर्ने भएको हो । फुसको छानो भएका घरपरिवारले मात्र जस्तापाता पाउने नगरपालिकाले बताएको छ ।


जस्तापाता पाउन छनोट भइसकेका नागरिकले सम्बन्धित आफ्नो वडामा सम्पर्क गर्नुपर्नेछ । त्यसका लागि वडामा परिपत्र गरिसकेको नगरपालिकाले जनाएको छ । नागरिकको सुविधाका लागि वडाको सिफारिसअनुसार पहिलो किस्तास्वरूप १० हजार रुपैयाँ जम्मा गरिनेछ र घर पूरै निर्माण भइसकेपछि तोकिएको रकम सम्बन्धित व्यक्तिले पाउनेछन् ।


१ नम्बर वडामा ५४, २ मा ३८ ३ मा २३, ४ मा ४६ घर र ५ नम्बर वडाको अहिलेसम्म विवरण आइपुगेको छैन ।


त्यस्तै, ६ नम्बर वडामा ९, ७ मा ७, ८ मा ३०, ९ मा ९ र १० मा हडियाका ३० घर गरी कुल २६७ घरधुरीले रकम पाउने भएका हुन् । निषेधाज्ञाको समय जस्तापाता बजारमा नभएकाले हार्डवेयर पसलमा पहिलो किस्ताको रकम १० हजार रुपैयाँ जम्मा गरेर नागरिकले जस्तापाता लगी घर छाउन सक्ने नगरपालिकाले बताएको छ ।


त्यसैगरी चौदण्डीगढी नगरपालिकाले हावाहुरीले क्षति पुर्‍याएका घरपरिवारलाई जस्तापाता सहयोग गरेको छ । २ दिनअघि आएको हावाहुरीले क्षति पुर्‍याएका घरपरिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

 

हावाहुरीले नगरपालिकाको २, ३ र ४ नम्बर वडामा बढी क्षति पुर्‍याएको छ । वडा नम्बर २ र ३ का ५६ घरपरिवारलाई १४९ बन्डल जस्तापाता उपलब्ध गराइएको नगरप्रमुख खगेन्द्र राईले बताए ।

 

वडा नम्बर ४ मा केही दिनमै उपलब्ध गराउने तयारी भइरहेको नगरप्रमुख राइको भनाइ छ । हावाहुरीबाट क्षति पुगेकालाई करिब १५ लाख २० हजार रुपैयाँ बराबरको जस्तापाता उपलब्ध गराइएको नगरपालिकाले बताएको छ ।