close

कोरोना जितेका जनप्रतिनिधिको अनुभवः केही हैनजस्तो लाग्थ्यो, खतरा रै’छ

कोरोना जितेका जनप्रतिनिधिको अनुभवः केही हैनजस्तो लाग्थ्यो, खतरा रै’छ

Trulli
ADVERTISEMENT

तनहुँ- ४ दिनदेखि श्रीमती लगातार बिरामी परिन् । कोरोना संक्रमणको शंका लागेर २८ वैशाखमा उनले श्रीमतीसँगै आफ्नो पनि पिसिआर परीक्षण गर्न स्वाबको नमुना दिए ।

 

वडाबासीको सेवामा निरन्तर खटिएका उनीसँगै श्रीमतीलाई ३ जेठमा कोरोना संक्रमणको पुष्टि भयो । कोरोनाको संक्रमण बढेसँगै उनको परिवारले पनि सावधानीका उपाय अपनाएका थियो ।

 

‘खै कुन्नि कहाँबाट कसरी सर्‍यो कोरोना !’ वडाको कामले डुलिरहने उनले मेसो पाएका छैनन् ।


श्रीमतीलाई बिसञ्चो भए पनि आफूलाई कोरोना पुष्टि हुँदासम्म उनी अर्थात् शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठलाई कुनै लक्षण देखिएको थिएन । तन्दुरुस्तै थिए । कोरोना पोजेटिभ पुष्टि होला भन्ने शंकासमेत गरेका थिएनन्, उनले । 


जब कोरोना पुष्टि भयो, केही दिनपछि मात्रै उनलाई गलाउँदै लग्यो । उच्च ज्वरो आयो । ज्यान दुखेर शिथिल बन्यो । उनी बोल्नै नसक्ने भए । खानेकुरा केही हेर्नै मन नलाग्ने रे उनलाई ।


विस्तारै शरीरमा अक्सिजनको मात्रा घट्दै गयो । कोरोनाले यतिसम्म सतायो कि होम आइसोलेसनमा बसेका वडाध्यक्ष दम्पतीलाई अक्सिजन नै दिनुपर्‍यो । 


पोखरास्थित मणिपाल अस्पतालमा कार्यरत स्टाफ नर्स छोरीले स्याहारसुसार गरिन् । छोरीको मणिपालको कोरोना वार्डमा काम गर्दाको अनुभवले सघायो । अलिक अप्ठेरो हुँदा पोखरा लगेर परीक्षण गरिन्थ्यो । 


१४ जेठमा दोस्रो पटक स्वाब दिएका वडाध्यक्ष दम्पती १६ जेठमा कोरोनामुक्त भएको रिपोर्ट प्राप्त भयो । आधा महिनासम्म कोरोनासँग लडेका वडाध्यक्ष श्रेष्ठ औषधीसँगै आत्मबल, पोषिला खानेकुरा र स्याहारसुसारले यसलाई परास्त गर्न सफल भएको बताउँछन् । ‘औषधी र स्याहारसुुसार नभई हुँदैन । संक्रमितको आत्मबल पनि चाहिन्छ’, उनी आफ्नो अनुभव सुनाउँछन् । 


कोरोना पुष्टि हुदाँ पनि आफु नडराएको उनले बताए । ‘मनोबल दह्रो बनाएर कोरोना केही हैन, जसरी पनि मैले जित्छु भन्ने थियो । कोरोना पोजेटिभ हुँदैमा केही हुन्छ कि भन्ने पीर गरिन । ढुक्कसँग जित्छु भनेरै बसँे’, उनले भने । 

 

संक्रमित भएर होम आइसोलेसनमा बस्दा आफन्त, इस्टमित्र, साथीभाइ र शुभचिन्तकको सकारात्मक फोन कल र म्यासेजले समेत आत्मबल बढाएको उनको अनुभव छ ।


संक्रमित भएर होम आइसोलेसनमा बस्दा आफ्नो स्वास्थ्यसँगै वडाबासीको चिन्ताले सताएको वडाध्यक्ष श्रेष्ठले सुनाए ।


कोरोना नियन्त्रणसँगै चालू आर्थिक वर्षमा बजेट विनियोजन भएका योजनाका काम अधुरो रहने चिन्ता बढी हुने गरेको उनले उल्लेख गरे ।


४ जेठमा वडाध्यक्ष निर्वाचित भएर सपथ गरेको ४ वर्ष पूरा भयो । सोही अवसरमा हालसम्म वडामा भएका प्रगति कार्यक्रम गरेर वडाबासीलाई जानकारी गराउने चाहना संक्रमित भएपछि पूरा नभएको उनी सुनाउँछन् ।


जसरी आफू संक्रमित हुनु पहिले कोरोनालाई सामान्य ठानेका थिए, उनको त्यो धारणामा परिवर्तन भएको छ । उनी भन्छन्, ‘पहिला केही होइनजस्तो लाग्थ्यो । लागेपछि खतरै रै’छ, था भो ।’


कोरोनासँग हेलचेक्र्याइँ नगर्न उनको सुझाव छ । ‘सबै सुरक्षित घरमै बसौँ । बिनाकामले बाहिर नडुलौँ । आफ्नो ज्यानको सुरक्षा गरौँ’, उनको आग्रह छ ।