close

  पोखराले सञ्चालनमा ल्यायो कोभिड अस्पताल (भिडियो खबर)

  पोखराले सञ्चालनमा ल्यायो कोभिड अस्पताल (भिडियो खबर)

ADVERTISEMENT

कास्की- पोखरा गण्डकी प्रदेशको राजधानी । यहाँ मान्छेहरुको चाप निकै धेरै छ । तर स्वास्थ्य सुविधा निकै कमजोर । नेपाल सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पतालको रुपमा घोषणा गरेको छ । प्रदेश सरकारले सरुवा रोगको छुट्टै अस्पताल बनाएर कोभिड विरामीको उपचार गरिरहेको छ । यसबाहेक मातृशिशु अस्पताल, मनिपाल अस्पताल, चरक अस्पताल र गण्डकी मेडिकल कलेजमा पनि संक्रमितको उपचार हुन्छ । तर, विरामी घरमै बस्न बाध्य छन् । कोहीले त अक्सिजन र अस्पताल खोज्दैमा बाटैमा  नै ज्यान गुमाउनुपर्ने अवस्था छ ।

 

पोखरा महानगरले यहि बाध्यतालाई चिर्न र नागरिकको उपचारका लागि आफ्नै अस्पताल सुरु गरेको छ । पोखरा महानगरपालिकाले आफ्ना नगरबासीहरुको स्वास्थ्यलाई ध्यान दिँदै एक सय शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । आफ्नै कार्यालय रहेको भवनबाट कोभिड उपचार सुरु गरेको हो । साविक लेखनाथ नगरपालिका र हाल वडा नम्बर २७ को कार्यालय रहेको भवनमा अक्सिजन सहितको शय्या सञ्चालनमा आएको छ । एक सय शय्याको अस्पताल बनाउन सुरु गरिएकोमा हाल ५० शय्या सञ्चालनमा आएको छ । नजिकै रहेको शिशुवा अस्पतालमा थप २५ शय्या कोभिड उपचार युनिट छ ।

 

अझै ५० शय्याको अस्पताल विस्तार तयारीमा पोखरा महानगरपालिका लागेको छ । पोखराले लायन्स क्लव र विभिन्न संघ संस्था तथा व्यक्तिसँग मिलेर सुविधायुक्त कोभिड उपचार युनिट सुरु गरेको हो । शय्या र केही उपकरण लायन्स क्लव अन्तर्राष्ट्रियले सघाएको छ भने स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाले अरु सहयोग गरेका छन् । २ करोड भन्दा बढी लागतमा अस्पताल तयार भएको पोखरा महानगरले जनाएको छ । 

 

कोभिड युनिटमा ८ जना विशेषज्ञ डाक्टर खटाईएको छ भने ११ जना मेडिकल अफिसर तथा ५० जना स्वास्थ्यकर्मी खटाईएको छ । शिशुवा अस्पताल मातहत रहने गरी यो अस्पताल सुरु गरिएको हो । अक्सिजनको पाईपलाईन सबै शय्यामा विस्तार गरिएको छ ।

 

चौविसै घण्टा हाई फ्लो अक्सिजन पुग्ने गरी व्यवस्थापन मिलाईएको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले जानकारी दिए । पोखराले २ साताभित्रै अस्पताल तयार गरेको हो । अहिले पोखरा महानगरमा १ हजार ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् । अधिकांश होम आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।