close

प्रधानमन्त्री रोजगार कार्यक्रमले जगाएकाे आस (भिडियो खबर)

प्रधानमन्त्री रोजगार कार्यक्रमले जगाएकाे आस (भिडियो खबर)

ADVERTISEMENT

तेह्रथुम- युवा देशको गहना मात्रै होइनन् देशको मेरुदण्ड पनि हुन् । ज्ञान सीप भए पनि पूँजी अभाव भएर हजारौ युवा बेरोजगार छन् । सरकारले बेरोजगार युवालाई देशमै रोजगार सृजना गरि देश विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भयो । सुरु सुरुमा राजनीतिक दलका कार्यकर्ता पालन पोषणको लागि मात्रै योजना ल्याइएको भन्दै चर्को आलोचना नभएको पनि होइन । तर, तेह्रथुममा सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी सावित भइरहेको छ ।

 

तेह्रथुमको फेदाप गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बनेको छ । स्थानीय तहले उपभोक्ता समितिबाट सञ्चालन गरेको योजना भन्दा कयौ गुणा प्रभावकारी बनेको छ । स्थानिय तहले बेरोजगार युवालाई रोजगारी सृजना गर्नुको सट्टा उपभोक्ता समिति मार्फत डोजरे विकासमा जोड दिइ रहेको बेला प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी सृजना गरि स्रोत र साधनमा समेत अब्बल बनेर स्थानीय तहलाई चुनौती दिएको छ ।

 

तेह्रथुममा प्रधानमन्त्री रोजगार कार्यक्रम वापत ६ करोड बढी बजेट प्राप्त भएको थियो भने जिल्लामा १७ सय बढी नागरिकले रोजगार पाएका छन् । दुई नगरपालिका र चार गाउँपालिका गरि ६ वटा स्थानीय तह रहेको जिल्लामा करिब ४१ सय ९० जना बेरोजगार नागरिक सूचिकृत भएका थिए । सरकारको कार्यक्रम ३ महिनाको लागि मात्रै नभइ दिगो रुपमा भए रोजगारी दिए घर चलाउन सहज हुने युवाहरूको भनाइ छ । 

 

जिल्लाको प्रधानमन्त्री रोजगार सँगै फेदाप गाँउपालिकाले फेदाप भित्रका युवालाई खानेपानी, सडक र पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेर रोजगारी सृजना गरेको छ । आगामी दिनमा कार्यविधि निर्माण गरेर हरेक बेरोजगार यवालाई रोजगार सृजना गर्ने गाउँपालिकाको रणनीति छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दुई चरणमा बजेट स्थानीय तहमा पठाएको थियो । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजनाको लागि जिल्लामा ३ करोड ५७ लाख १८ हजार प्राप्त भएको छ ।

 

युवा रुपान्तरण पहल आयोजनामा २ करोड २७ लाख ९हजार प्राप्त गरेका थिए । गाउँपालिकाले पारिश्रमिकमा आधारित ५१ लाख ७० हजार, युवा रुपान्तरणमा १५ लाख प्राप्त गरेको  थियो । गाउँपालिकाम ५ सय ६ जना बेरोजगार सुचिकृत भएका मध्ये ४० महिला सहित १ सय ७५ जनाले रोजगारी पाएका छन् । 


स्थानीय तहलाई धेरै अधिकार दिइएको छ । स्थानीयको समन्वयमा नै जीवनस्तर उकास्ने गरी योजना निर्माण गर्ने जिम्मा पनि स्थानीय तहकै काँधमा छ । त्यसमाथि सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता युवाहरू देख्छन् । सामाजिक र आर्थिक रूपमा छिटै फड्को मार्न पनि स्थानीय सरकारले कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक छ ।