close

३ वर्षपछि सरकारमा कांग्रेसको इन्ट्री, प्रदेशमा भए २ मन्त्री 

३ वर्षपछि सरकारमा कांग्रेसको इन्ट्री, प्रदेशमा भए २ मन्त्री 

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई आइतबार शपथ गराएका हुन् । 


सत्ता–साझेदार कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुन दुई नेताको नाम सिफारिस गरेको थियो । दुई मन्त्री थपिएसँगै कर्णाली प्रदेश सरकारमा आठ मन्त्री भएका छन् भने कांग्रेस ३ वर्ष तीन महिनापछि पहिलोपटक सरकारमा पुगेको छ । 

 

यो सपथसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले आजबाट पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।


सत्ता साझेदार दल नेपाली काँग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि खाली थिए । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले जुम्ला निवासी कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास र सुर्खेत निवासी प्रदेशसभा यज्ञबहादुर बिसीलाई सामाजिक विकास मन्त्रीमा सिफारिस गरेको थियो । त्यससँगै काँग्रेसले आचारसंहिता पनि जारी गरेको थियो ।

 

दुई मन्त्री नियुक्त भएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शनिबार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको विसं.२०७४ फागुन ६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) र धारा १७० को उपधारा (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन भएको व्यहोरा जानकारी गराएका थिए ।

 

अब कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्यमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपाली, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी रहने छन् ।

 

काँग्रेस संसदीय दलका नेता शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी मन्त्रिपरिषद् पूर्णताको काममा तीव्रता दिईएको बताए ।