close

नमोबुद्धका सात सय परिवारलाई राहत वितरण

नमोबुद्धका सात सय परिवारलाई राहत वितरण

Trulli
ADVERTISEMENT

काभ्रे– कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नमोबुद्ध नगरपालिकाका विपन्न र असहाय परिवारका लागि राहत वितरण गरिएको छ ।


नमोबुद्ध ठ्राङ्गु गुम्बा र ठ्राङ्गु भज्रयाना बुद्धिष्ट सेन्टरले नगरपालिकामार्फत सोयर्स एक्सन हङकङको सहयोगमा राहत वितरण गरेका हुन् । नगरपालिकाका ११ वडाका सात सय परिवारलाई वडा कार्यालयमार्फत राहत वितरण गरिएको ठ्राङ्गु गुम्बा नमोबुद्धका महासचिव आचार्य पासाङले जानकारी दिए । राहत प्याकेजमा प्रत्येक परिवारका लागि ३० केजी चामल, ३ किलो दाल, २ लिटर तेल र १ किलो नुन छ ।


गुम्बाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई राहत प्याकेज हस्तान्तरण गरेको थियो । त्यसपछि नगरपालिकाले सबै वडा कार्यालयमार्फत विपन्न र असहाय परिवारका लागि राहत वितरण गरेको हो । नगरपालिकाले कोरोना भाइरस महामारीको पहिलो लहरदेखि नै विभिन्न संघसंस्थाको सहयोगमा विपन्न वर्गका लागि राहत वितरण गर्दै आइरहेको छ ।


नमोबुद्ध ठ्राङ्गु गुम्बाले गत बर्ष पनि नमोबुद्ध नगरपालिकामार्फत विपन्न र असहाय परिवारका लागि राहत वितरण गरेको थियो । कोभिड १९ को महामारी र यसलाई रोकथाम एवं नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकलाई केही हदसम्म भए पनि राहत महसुस होस् भन्ने उद्देश्यले राहत वितरण गरिएको गुम्बाले जनाएको छ ।

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण


नमोबुद्ध नगरपालिकालाई वागमति टिपर व्यवसायी संघले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथाम एवं नियन्त्रणका लागि संघले मास्क, पिपिई, फेस सिल्ड, सेनिटाइजर, अक्सीमिटर, डिजिटल थर्मोमिटर, साबुन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

 

संघका अध्यक्ष प्रेम लामासहितको टोलीले सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले महामारी रोकथाम र नियन्त्रणमा लागिरहेको नगरपालिकाका लागि प्राप्त स्वास्थ्य सामग्रीले थप मद्दत र हौसला मिलेको बताए ।