close

यसरी भयो नरैनापुर कोरोना नियन्त्रणमा  सफल (भिडियो खबर)

यसरी भयो नरैनापुर कोरोना नियन्त्रणमा  सफल (भिडियो खबर)

ADVERTISEMENT

बाँके- बाँकेको नरैनापुर गाउँपालिका कोभिड-१९ को पहिलो लहरमा निक्कै जोखिममा थियो । देशभरीका कोरोना संक्रमितको संख्या ५ सयको हाराहारीमा पुग्दा नरैनापुरमा मात्र १ सय २७ जना संक्रमित भएका थिए । सदरमुकाम नेपालगन्जसँग जोडिने सडक र विद्युतको अभावमा क्वारेन्टिन र आइसोलेसन पनि निर्माण गर्ने अवस्था थिएन । तर, अहिले भने अवस्था फेरिएको छ ।

 

अहिले अस्पतालमा अक्सिजनको सहज व्यवस्थापन भइरहेको छ । संक्रमित निको भएर घर फर्किन थालेका छन् । नरैनापुरले महामारी नियन्त्रणमा गरेको अग्रिम तयारीले नै अहिले महामारी  रोक्न  सफल भएको छ । नरैनापुरमा कालोपत्रे सडक, विद्युत र स्वास्थ्य संस्थामा चिकित्सक तत्कालिन अवस्थामा एकै पटक पुगेका थिए । जसका कारण कोरोना संक्रमणको दोस्रो लहर आउदा यहाँको अवस्था त्यति जोखिमपुर्ण नभई सहज हुन पुग्यो ।

 

पहिलो लहरमा आइसोलेसन पनि नभएको नरैनापुरमा अहिले भने अक्सिजन सुविधा सहितको आइसोलेसन निर्माण गरी दुई जना मेडिकल अफिसर सहित सेवा सञ्चालन भइरहेको छ । नरैनापुरमा पहिलो भेरियन्टको संक्रमण हुँदा १२७ जना संक्रमति र १ जनाको मृत्यु भएको थियो भने दोस्रो भेरियन्टको संक्रमण सुरु भएपछि हालसम्म १९४ जना संक्रमित हुनपुगे भने ४ जनाको संक्रमणको कारण ज्यान गएको छ ।

 

नरैनापुरका ६ वटै वडा नेपाल-भारत सिमासँग जोडिएका छन् । खुला सीमाका कारण संक्रमित व्यक्ति भारतबाट भित्रिने जोखिम बढी भएको कारणले गाउँपालिकाल सीमामै एन्टीजेन परीक्षण सुरु गर्‍यो । संक्रमित फेलापरेपछि पनि कन्ट्याक्ट ट्रेसिङ गरेर समेत कोरोना नियन्त्रणका लागि पहल गर्‍यो ।

 

कोरोना संक्रमणको पहिलो लहरमा १ हजार ६ सय ८४ जनाको पीसीआर र ७ सय ८५ जनाको आरडिटी परीक्षण गर्दा १ सय १ सय २७ जनामा कोरोना संक्रमण देखिएको स्मरण गर्दै आइसोलेसनको अभावमा उनीहरुको व्यवस्थापन र उपचारमा कठिनाई भोग्नु परे पनि संक्रमणको दोस्रो लहरमा भने सहज भएको गाउँपालिकाको दावी छ । 


गाउँपालिकासँग अहिले ३५ शय्याको अक्सिजन सहितको आफ्नै आईसोलेसन सेन्टर छ । अहिलेसम्म ६२ जना आईसोलेसनमा भर्ना भएका छन् । पालिकासंग अहिले २२ वटा सानो र ११ वटा ठुला अक्सिजन सिलिण्डर छन् । पालिका अहिले संक्रमितलाई हाईफ्लो अक्सिजन दिएर भएपनि राख्न सक्ने क्षमता बनाएको लक्ष्मणपुर स्वास्थ्य केन्द्रका ईन्चार्ज तथा मेडिकल अफिसर डा. सागर पन्तको भनाई छ । 


पहिलो भेरियन्टको संक्रमणमा अभावै अभावको कारण स्थिति सम्हाल्न कठिन भएकोले नरैनापुरले २०७७÷७८ को बजेट विनियोजनका क्रममा कोराना संक्रमणको सम्भावित दास्रो लहरको सम्भावनालाई मध्येनजर गर्दै ९० लाख बजेट प्रकोप नियन्त्रणका लागि भनेर छुट्याएको थियो । जसको कारण बजेट रकमान्तर गर्नु नपरेको बताउँछ । 


पालिका भित्रका स्वास्थ्य संस्थामा आवश्यक उपकरण थप गरी अझ आधुनिकीकरण गर्दै लैजानुको साथै अन्य पूर्वाधार र जनशक्ति थप गर्न सके महामारी नियन्त्रण गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ सुगम भित्रको दुर्गम पालिकाको परिचय बनाएको बाँकेको नरैनापुर गाउँपालिका ।