close

उदयपुरमा ८ खोप केन्द्र निर्धारण 

उदयपुरमा ८ खोप केन्द्र निर्धारण 

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोनाविरुद्धको भेरोसेल खोपका लागि ८ वटा खोप केन्द्र निर्धारण गरेको छ । उदयपुरमा ८ वटा पालिका रहेकाले पालिकाको केन्द्रमा मात्र खोप केन्द्र निर्धारण गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपर भाइजर चिरञ्जीवी निरौलाले बताए ।

 

उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिका, ताप्ली, उदयपुरगढी, लिम्चुङबुङ र रौतामाई गाउँपालिका केन्द्रलाई खोप केन्द्र निर्धारण गरिएको हो । 

 

उदयपुरमा कोरोनाविरुद्धको पहिलो मात्राको भेरोसेल खोप मंगलबारबाट दिइँदै छ । ६० देखि ६४ वर्ष उमेर समूहलाई दिइने यो खोप सबै नागरिकलाई उपलब्ध गराइने भएको हो ।

 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका, चौदण्डीगढी र उदयपुरगढी गाउँपालिकामा २५ जेठमा खोप लगाउन थालिएको छ । 


त्यसैगरी कटारीमा २६ जेठबाट, त्रियुगा नगरपालिका, रौतामाई, लिम्चुङबुङ गाउँपालिकामा २७ जेठबाट र ताप्ली गाउँपालिकामा २८ जेठदेखि भेरोसेल खोप लगाइने कार्यक्रम रहेको खोप सुपरभाइजर निरौलाले जानकारी दिए । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहिलो निर्णयअनुसार ६० देखि ६४ उमेर समूहकालाई भेरोसेल खोपको प्रथम र दोस्रो मात्रा सुनिश्चित हुने गरी विभिन्न केन्द्रबाट खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।


त्यसका लागि आवश्यक तयारी पूरा भइसकेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । खोप लगाउनेलाई आफ्नो परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कागजात ल्याउन आग्रह गरिएको छ ।

 

उदयपुरमा ३ हजारलाई भेरोसेल खोप लगाउने लक्ष्य छ । उदयपुरमा अघिल्लो पटक ज्येष्ठ नागरिकका लागि कोभिडसिल खोप लगाइएको थियो । तर, पहिलो खोप लगाएको ३ महिना बितिसक्दासमेत दोस्रो खोप आउने निश्चित छैन । उदयपुरमा १० हजार ५ सय ज्येष्ठ नागरिक दोस्रो खोेपबाट वञ्चित भएका छन् ।