close

जगन्नाथमा सिँचाइ नहर निर्माण तर, चुहिँदैन थोपा पानी

जगन्नाथमा सिँचाइ नहर निर्माण तर, चुहिँदैन थोपा पानी

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयले पानी अभावका कारण सिँचाइ गर्न समस्या भएको छ । जगन्नाथ गाउँपालिकाले निर्माण सम्पन्न गरेको कालगाड कापु सिँचाइ नहरमा पानी आउन छाडेपछि सिँचाइ गर्न समस्या भएको स्थानीयले बताएका हुन् ।

 

वडा नम्बर ६ का घरधुरीलाई कृषि बालीमा सिँचाइ गर्न गाउँपालिकाको १ करोड ८० लाख रुपैयाँमा निर्माण सम्पन्न नहरमा अहिले पानी आउन छाडेपछि धानको बेर्ना जोगाउन समस्या भएको स्थानीय रामलाल विष्टले बताए ।

 

सिँचाइ नहर सम्पन्न भएको करिब ४ महिना बितिसक्दा पनि नहरमा पानी आए-नआएको गाउँपालिकाले अनुगमनसमेत नगरेको उनको गुनासो छ ।
 
अकासे पानीको भरमा खेती हुँदै आएको अवस्थामा सिँचाइ नहर निर्माणसँगै कृषि उत्पादन बढाउन सहज हुने आशमा रहेका किसानलाई नहर सुक्खा भएपछि चिन्ता थपिएको स्थानीय कुम्मराज रावलले बताए । 

 

पानी अभावका कारण वडा नम्बर ६ का करिब ४५० बढी स्थानीयलाई धान र कोदोको बिउ जोगाउन मुस्किल भएको उनको भनाइ छ । बर्खे खेती सिजन आए पनि पानी अभावका कारण खेतमा राखिएको बिउबेर्ना सुक्दै जाँदा स्थानीय चिन्तित छन् ।

 

नहरको मुहान गज्यागाडबाट सिँचाइका लागि आउने पानीलाई गाउँपालिकाले खानेपानीमा प्रयोग गरेपछि नहरमा पानी सुकेको खेताला बुद्ध सार्कीले बताए । मुहानमा पानीको स्रोत कम भएको र भएको पानीको सदुपयोग गरी गाउँपालिकाले खानेपानीका धारा निर्माण गरेपछि नहरमा पानी सुक्दै गएको उनको भनाइ छ ।

 

एउटै मुहानबाट आएको पानी सिँचाइ र खानेपानी गरी २ ठाउँमा विभाजन हुँदा स्थानीयलाई सिँचाइका लागि अपुग भएको हो । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यतामा रहेका किसान खेती सिजन सुरु भए पनि नहरमा पानी चुहिन छाडेपछि चिन्तामा छन् ।