close

जनप्रतिनिधि र कर्मचारी विवादले गाउँपालिकाको ४ करोड रुपैयाँ फ्रिज

जनप्रतिनिधि र कर्मचारी विवादले गाउँपालिकाको ४ करोड रुपैयाँ फ्रिज

Trulli
ADVERTISEMENT

मुगु- मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।


गत आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिका अध्यक्ष लोकबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढाबीचको विवादका कारण ४ करोड वढी रकम फ्रिज गएको अवस्थामा पालिका यो आर्थिक वर्षमा नीति तथा कार्यक्रममा जुटेको हो ।


कार्यकारी र अध्यक्षको विवादले करिब ४ करोड रुपैयाँ बराबरको रकम फ्रिज गएको थियो । गाउँपालिकाले यो वर्ष समयमै काम सम्पन्न गरेर नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा जुटेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर मल्लले बताए ।


उनका अनुसार फ्रिज रकमलाई सदुपयोग गर्न प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय सुर्खेतमा सिफारिस र पत्र काटेरै पठाए पनि हालसम्म कुनै जानकारी आएको छैन । ‘प्रदेश सरकारले आउँछ-आउँछ भनेर आलटाल गरेको छ । हालसम्म कुनै सुनुवाइ भएको छैन’, अधिकृत मल्लले भने ।


२२ जेठको कार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाका ११ वटै वडाले वडास्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेर २ असारसम्म पालिकामा पेस गर्ने र त्यसपछि विषयगत समितिमा छलफल गरेर तोकिएकै समय नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको उनले बताए । हाल वडागत योजना आउने क्रम जारी रहेको उनको भनाइ छ ।

 

मुगुमकार्मारोङको सेवा बन्द 

जिल्लाको पूर्वी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै पालिका बन्द गरेको छ । 


कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाबाट प्रवाह अत्यावश्यकबाहेक सेवा आउँदो जेठ ३१ सम्म बन्द गरिएको प्रमुखप्रशासकियअधिकृत तीर्थबहादुर कठायतले बताए ।