close

कोरोना उपचार गर्न सिदिङ्वाले ५० हजारसम्म दिने 

कोरोना उपचार गर्न सिदिङ्वाले ५० हजारसम्म दिने 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कोरोनाविरुद्धको उपचारका लागि पालिकाभित्रका बासिन्दालाई अधिकतम ५० हजार रुपैयाँसम्म उपलब्ध गराउने गरी उपचार राहत प्याकेज घोषणा गरेको छ । 


उपाध्यक्ष जीवनकुमार ताम्लिङका अनुसार पालिकाभरका बासिन्दामा कोरोना संक्रमित भई होम आइसोलेसनमा बस्नुपर्ने वा अन्य अस्पतालमा उपचारका लागि जानुपर्ने अवस्था आए पालिकाले उपचार राहत प्याकेज उपलब्ध गराउने भएको हो । 


कोरोना संक्रमित होम आइसोलेसनमा बस्दा पालिकाको स्वास्थ्य शाखाले मास्क र स्यानिटाइजरसहित होम आइसोलेसन किटमार्फत प्रथम तहको औषधी उपलब्ध गराइनेछ ।

 

कोभिड-१९ संक्रमण पुष्टि भई होम आइसोलेसनको मापदण्ड पूर्ण पालना गरेको अवस्थामा संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्ता खाना खाने प्रयोजनार्थ वडा निगरानी समूह र सम्बन्धित वडामा रहेको स्वास्थ्य चौकीको सिफारिसमा संक्रमण पुष्टि भएको १० दिन जनही ५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने उपाध्यक्ष ताम्लिङले जानकारी दिए ।

 

होम आइसोलेसनबाट उपचारका लागि सिदिङ्वा गाउँपालिका वडा नम्बर ४ मा रहेको कोभिड अस्पताललगायत अन्य अस्पतालमा रेफर भई उपचारका लागि जानुपरे गाउँपालिकाको एम्बुलेन्स निःशुल्क उपलब्ध गराइनेछ ।

 

यदि एम्बुलेन्स सम्भव नभए आफैं गाडी व्यवस्था गरी गए गाडी भाडाबापतको रकम गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताए ।

 

यस्तै, होम आइसोलेसन वा गाउँपालिका वडा नम्बर ४ मा रहेको कोभिड अस्पतालमा उपचार हुन नसकी रेफर भई अर्को अस्पतालमा उपचार गराउन जानुपरे औषधोपचार खर्चबापत बिल भर्पाइको आधारमा अधिकतम ५० हजार रुपैयाँसम्म रकम उपलब्ध गराउने निर्णय भएको पालिका उपाध्यक्ष ताम्लिङले जानकारी दिए ।