close

प्रवासीको उपहार : अक्सिजन र आइसियु बेड 

प्रवासीको उपहार : अक्सिजन र आइसियु बेड 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगामा जन्मिएर विदेशलाई कर्मथलो बनाउँदै आएका जिल्लाबासीले कोरोना रोकथामका लागि महत्त्वपूर्ण सहयोग जुटाएका छन् । भारतदेखि बेलायतसम्म रहेका ओखलढुंगेले संकलन गरेको रकमबाट आइसियु बेड, अक्सिजन सिलिन्डर खरिद गरेर अस्पताल र स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । 

 

बेलायतमा कार्यरत नेपाल प्रहरीका पूर्वडिएसपी शिवजी श्रेष्ठको संयोजकत्वमा रहेको कोभिड–१९ विरुद्ध ओखलढुंगेली विश्व सञ्जालको तर्फबाट २ अस्पतालमा भेन्टिलेटर जडान गरिएको छ । सामुदायिक अस्पताल सोब्रु र ओखलढुंगा जिल्ला अस्पतालमा २–२ थान आइसियु बेड जडान गरिएको छ भने हालै ८ वटै स्थानीय तहमा ५ थानका दरले अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । 

 

बुधबार सञ्जालको ओखलढुंगामा समन्वय गर्दै आएको स्थानीय समितिले प्रवासीले जुटाएको रकमबाट खरिद गरिएका ४० थान भरिएका अक्सिजन सिलिन्डर गाउँपालिका तथा नगरपालिकामा हस्तान्तरण गरिएको छ ।

 

सिलिन्डर हस्तान्तरण गर्दै स्थानीय समन्वय समितिका संयोजक तथा सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले प्रवासीले गास कटाएर महामारीविरुद्ध लड्न उपकरण प्रदान गरेकामा धन्यवाद दिए । उनले भने, ‘आफ्नो आम्दानीको केही अंश जोगाएर जिल्लाबासीको ज्यान बचाउने अभियानमा जुटेका मनकारीहरू धन्यवादका पात्र हुनुहुन्छ ।’

 

बुधबारै ८ मध्ये ४ स्थानीय तहले अक्सिजन सिलिन्डर गाउँपालिका केन्द्र लगेका छन् । अन्य तहलाई बिहीबार नै बुझाइने उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले बताए ।

 

जिल्लामा प्रवासीको तर्फबाट सामग्री वितरण गर्न समन्वय गरेका उनले भने, ‘चाँडै सबै तहका अस्पतालमा अक्सिजन सिलिन्डर जडान गरेर सेवा सुचारु हुनेमा विश्वस्त छौँ ।’ यसअघि पनि बेलायतमा रहँदा शिवजी श्रेष्ठलगायतले सामुदायिक अस्पताललाई ब्लड बैंकका लागि आवश्यक उपकरण सहयोग गरेका थिए ।