close

अन्तत: राेकियाे रातु खोला उत्खनन्

मापदण्डविपरीत भए-नभएको छानबिन गर्न प्राविधिक समिति 

अन्तत: राेकियाे रातु खोला उत्खनन्

मापदण्डविपरीत भए-नभएको छानबिन गर्न प्राविधिक समिति 

Trulli
ADVERTISEMENT

महोत्तरी- बर्दिबास नगरपालिकाले ठेक्कामा लगाएको रातु नदीको उत्खनन मापदण्डविपरीत भएको भन्दै ठेकेदार कम्पनीलाई उत्खनन रोक्न निर्देशन दिएको छ ।

 

अनुगमनका क्रममा बर्दिबास नगरपालिकासँग भएको सम्झौता र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनविपरीत उत्खनन गरेको पाइएपछि ठेकेदार कम्पनी पञ्चधुरामाई सप्ल्यार्स, चधुरामाई सप्लायर्स, शिवम् कन्स्ट्रक्सन प्रालि र दिव्यासु बिल्डर्स प्रालिलाई उत्खनन रोक्न निर्देशन दिइएको हो ।

 

बर्दिबास नगरपालिकाको किसानगर, जुरेटोल, फूलबारी र पथलैया खण्डमा भइरहेको उत्खनन मापदण्डविपरीत भएको जनगुनासो आएपछि २३ जेठमा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको टोलीले संयुक्त अनुगमन गरेको थियो ।

 

रातु खोलाको ४ वटै खण्डमा सम्झौतापत्र र आईई प्रतिवेदनभन्दा बाहिर गएर उत्खनन गरेको पाइएपछि प्राविधिक रूपमा एकिन गर्न नगरपालिकाले राजस्व शाखा प्रमुखको संयोजकत्वमा नापजाँच उपसमिति गठन गरेको छ ।


उक्त उपसमितिले खोलाबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा तथा ग्राभेललगायत प्रशोधित निर्माण सामग्रीको स्टक प्रमाणीकरण नहुन्जेल क्रसर उद्योगलाई समेत बिक्री वितरण र ओसारपसारमा रोक लगाएको छ ।


बर्दिबास नगरप्रमुख विदुर कार्कीले कोभिड-१९ संक्रमणमा सम्पूर्ण ध्यान केन्द्रित भएको अवस्थामा निर्देशन दिँदादिँदै पनि गलत ढंगबाट उत्खनन हुनु दण्डनीय भएको बताए ।


संविधान, स्थानीय सरकार सञ्चालन ऐन, प्रचलित संघीय, प्रादेशिक एवं स्थानीय कानुनले व्यवस्था गरेको जिम्मेवारी र अधिकारमा टेकेर नापजाँच गर्न प्राविधिक समिति गठन गरिएको जानकारी दिए ।

 

नगरपालिकाले २०७७ मा किसाननगर खण्ड पञ्चधुरामाई सप्लायर्सलाई १ करोड ७१ लाख ९९ हजारमा, जुरेटोल खण्ड चधुरामाई सप्लायर्सलाई १ करोड ७१ लाख ९९ हजारमा, फूलबारी खण्ड शिवम् कन्स्ट्रक्सन प्रालिलाई १ करोड ८२ लाख ५१ हजार र पथलैया खण्ड दिव्याशु बिल्डर्स प्रालिलाई १ करोड ८० लाख रुपैयाँमा ठेक्का लगाएको थियो ।