close

गुमनाम सगरमाथा प्रवेशद्वार कटारी बजार गुल्जार बन्दै 

गुमनाम सगरमाथा प्रवेशद्वार कटारी बजार गुल्जार बन्दै 

Trulli
ADVERTISEMENT

उदयपुर- विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारको रुपमा पहिचान बनाएको कटारी बजार सशस्त्र द्वन्द्वपछि सुनसान हुन पुगेको थियो । कटारी बजार व्यापार व्यवसायसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रतर्फ पदमार्ग हुँदै आउजाउ गर्ने मुख्य मार्ग पनि हो ।

 

तर, सशस्त्र द्वन्द्वपछि २२ वर्षयता पर्यटकको चहलपहल नहुँदा कटारी बजार सुनसान बन्न पुग्यो । द्वन्द्वका कारण कतिपय व्यापारी यहाँबाट पलायन भए । करोडौँको व्यापार हुने थोक बिक्रेता कटारी छाडेर हिँडिसकेका थिए । व्यापार कमजोर हुँदै गएपछि सर्वसाधारणको चहलपहलसमेत घटेको थियो ।

 

मुख्य सडकका रूपमा रहेको सिद्धिचरण लोकमार्गको पक्की सडक उप्किएर जीर्ण भएपछि आउजाउमा समस्या हुने गरेको छ । खोटाङ, सोलुखुम्बु र ओखलढुंगाबाट आउने सर्वसाधारणले बाटो फेरिसकेका थिए ।

 

तर, अहिले अवस्था फेरिएको छ । आफ्नो पहिचानै गुमाउने अवस्थामा पुगेको कटारी बजार विस्तारै लय समाउन थालेको छ । सुनकोसी र दूधकोसीमा पक्की पुल बनेसँगै ओखलढुंगा, सोलुखुम्बु र खोटाङ आउजाउ गर्नेहरूको १ रातको बसाइ कटारी हुने गरेपछि कटारी बजारको चहल पहल बढ्न थालेको छ ।

 

कटारी बजार क्षेत्रको सरसफाइसँगै खानेपानीको व्यवस्थित हुँदै जानु, बजारको भित्री सडक स्तरोन्नति गरिनु, बसपार्कलाई व्यवस्थित गरिएकाले सवारी आवागमन सहज हँुदै गएकाले पनि सर्वसाधारणको चहल पहल बढेको हो । स्थानीय तहको गठनसँगै कटारी बजार पुनः पुरानो पहिचानमा फर्कने जमर्काे गरिरहेको छ ।

 

‘पुरानो र नयाँ कटारीलाई फ्युजन गरेर आधुनिक कटारी बन्दै छ,’ कटारी नगरपालिकका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘कटारीले चाँडै गुमेको छवि पुनः फर्काउने तयारीका साथ नगरपालिकाले काम अघि बढाएको छ । बजार क्षेत्र वर्ष दिनभित्रै धुवाँधुलो रहित सहरका रूपमा विकास गर्ने गरी काम भइरहेको छ ।’

 

हिमाल, पहाड र तराईसँग जोडिएको कटारी बजार पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवसँग केबुलकारले जोड्ने गरी अध्ययन भइरहेकाले कटारी बजारको गुमेको अस्तित्व पुनः फर्काउन सकिने उनको विश्वास छ ।

 

कटारी बजारमा बढेको व्यापारिक चहलपहलले सर्वसाधारणको दैनिक जीवन सहज र सरल बनेको छ । कटारी केन्द्रबाट उदयपुरबासीलाई मात्र होइन, माथिल्लो सगरमाथा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सर्वसाधारणलाई समेत दैनिक उपभोग्य वस्तुको खरिद बिक्री तथा आउजाउमा सहज हँुदै गएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए ।

 

‘द्वन्द्वको समय असुरक्षाका कारण सुनसान बनेको कटारी बजार पुनः व्यापारिक केन्द्रका रूपमा परिवर्तन हुन थालेको छ’, उनले भने, ‘नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेकाले कटारी बजार आधुनिक व्यापारी केन्द्र हुने विश्वास पलाएको छ ।’

 

द्वन्द्व व्यवस्थापनपछि तत्कालीन समय सरकारले ग्रामीण सडक निर्माणलाई उच्च प्राथमिकता दिएको थियो । कच्ची सडक निर्माण भएपछि नगरपालिकको ग्रामीण क्षेत्रका सर्वसाधारणलाई बजारसम्म आउजाउ गर्न सहज भएको छ । स्थानीयका उत्पादनले बजार पाउन थालेका छन् ।

 

कटारी बजारमा बढेको आर्थिक गतिविधिसँगै यस क्षेत्रका सर्वसाधारणको आर्थिक जीवन स्तरमा सकारात्मक परिवर्तन आइरहेको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष खड्काको भनाइ छ । ‘द्वन्द्वको समय असुरक्षालाई प्रमुख कारण देखाउँदै यहाँका व्यापारी पलायन भएका थिए,’ अध्यक्ष खड्काले भने, ‘तर द्वन्द्व व्यवस्थापन भएपछि उनीहरू पुनः फर्किन थालेका छन् ।’ यसले गर्दा आफ्नो उत्पादन बजारमा बेचेर जीवनयापन गर्ने किसानलाई समेत फाइदा पुगेको उनले सुनाए ।

 

नगर क्षेत्रमा थप आर्थिक गतिविधि बढाउन नगरपालिकाले बृहत् गुरुयोजना तयार गरेको नगरप्रमुख श्रेष्ठले बताए । ‘गुरुयोजना तयार पारेर काम गरिएकाले बजार विस्तारसँगै नगरपालिकाको केन्द्र कटारी बजारसँग गाउँलाई जोडिसकिएको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘वडाका केन्द्रसँग जोडिसकिएको छ । अहिले गाउँ-गाउँलाई केन्द्रसँग जोड्ने गरी काम भइरहेको छ ।’