close

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)

ADVERTISEMENT

नुवाकोट- नुवाकोटको पञ्चकन्या गाउँपालिकामा भएको ५३ लाख रुपैयाँ चोरीको घटनाको चर्चा कतै लुकेको छैन । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बाँड्न भन्दै वडाका कर्मचारीले बैंकबाट निकालेको ५० लाख रुपैयाँ चोरी भयो । चोरी भएपछि गाउँपालिकाको उजुरीका आधारमा तीन जनालाई मुद्दा चलाइयो । तीनै जना धरौटीमा रिहा भए । तर, घटना सेलाएको छैन । न त चोरी भएको रकम नै फेला परेको छ ।


रकम चोरी भएको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाइएको थियो । सोही कारण सामाजिक सुरक्षा भत्ता लाभग्राहीले पाउन सकेका छैनन् । यही घटनाले अहिले सिंगो गाउँपालिका नै समस्यामा परेको छ । 

 

नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बाट सामाजिक सुरक्षा भत्ता चोरी गरिएको प्रकरणमा गाउँपालिकाका प्रशासकीय अधिकृतको भूमिका शंकास्पद देखिएको छ । गत २४ चैत राती वडा कार्यालयको दराजबाट ५३ लाख रुपैयाँ रकम चोरी भएपछि सुरु भएको अनुसन्धानले उक्त घटनामा प्रशासकीय अधिकृत नरेश पुडासैनीको समेत संलग्नता रहेको आधार भेटिएको छ । वडा कार्यालयका सचिव सरिता रावतसहितका ३ जना कर्मचारीले बट्टारस्थित हिमालयन बैंकबाट भत्ता वितरणका लागि भनेर झिकेको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ सोही दिन राती चोरी भएको थियो ।

 

चोरी भएको लामो समयसम्म गाउँपालिकाले घटनालाई गोप्य राख्न खोज्नुदेखि बैंकबाट ५० लाख रुपैयाँ झिक्न सिफारिस गर्नुसम्मको प्रकरणले प्रशासकीय अधिकृत घटनामा संलग्न रहेको हुन सक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दाबी छ । 

 

वडाभित्रका लाभग्राहीलाई वितरण गर्न भन्दै वडासचिव रावतले बैंकबाट नगद झिकेकी थिइन् । रकम झिक्न बैंक पुगेका उनीहरूलाई बैंकले १० लाख रुपैयाँभन्दा बढी नगद झिक्न नमिल्ने बताएपछि प्रशासकीय अधिकृत पूडासैनीले ५० लाख रुपैयाँ दिन बैंकलाई चिठ्ठी लेखेपछि रकम निकासा भएको खुलेको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रालयले गरिरहेको अनुसन्धानले प्रत्यक्ष रूपमा प्रशासकीय अधिकृत र अप्रत्यक्ष रूपमा पालिका अध्यक्षको समेत हात हुन सक्ने देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी बताउँछन् ।

 

चोरीको घटना भएको साढे २ महिनापछि मात्र थाहा पाएको मन्त्रालयले यो घटनालाई पालिकाले लुकाएर राखेका कारण पनि मिलेमतोमा रकम चोरी गरिएको दाबी गरेको छ । रकम चोरी भएलगत्तै वडा कार्यालयको सिसीभिटी फुटेजले कर्मचारीले कार्यालयमा आएर रकम दराजमा राखेको देखाउँदैन भने सोही दिन राती एक जना शंकास्पद व्यक्ति कार्यालयमा आएर घुमेको तर दराजसम्म नपुगी फर्किएको देखाएको थियो ।

 

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ सिसीटिभी फुटेजकै आधारमा वडा सचिव र अन्य दुई जना सहायक स्तरका कर्मचारीविरुद्ध उजुरी गरेको बताउँछन् । पालिकाको उजुरीपछि उनीहरूविरुद्ध मुद्दा पर्‍यो । तर, जिल्ला अदालतले वडा सचिव रावतलाई ३ लाख र अन्य दुई कर्मचारीलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाडेपछि मात्र घटना मन्त्रालयसम्म पुगेको नुवाकोटको पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ बताउँछन् ।

 

मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार धरौटीमा छुटेकी वडा सचिव कार्यालयमा हाजिर हुन आएपछि मात्र पालिकाले हाजिर गराउने कि नगराउने भनेर सोध्ने क्रममा चोरीको घटनावारे थाहा पाएको बताउँछन् । तर, पालिका अध्यक्ष तामाङ भने आफूले यो घटनाबारे मन्त्रालयलाई दुई पटक पत्र लेखेर जानकारी गराएको दाबी गर्छन् । उनी रकम चोरीमा वडाकै कर्मचारीको मिलेमतो भन्छन् ।

 

तर, अदालतले धरौटीमा छाडेर मुद्दाको सुनुवाइ गरिरहेकाले पालिका र मन्त्रालयले औपचारिक रूपमा थप अनुसन्धान गर्न सकेका छैनन् । मन्त्रालयले भने रकम झिक्ने क्रममै बदनियत देखिएको, घटना लुकाउन खोजेको भन्दै प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ । उनले दिएको स्पष्टीकरणको जवाफसमेत चित्तबुझ्दो नभएको मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए ।


घटनाबारे बुझ्न पालिकाखबरसँग दुई दिनअघि सम्पर्कमा आएका प्रशासकीय अधिकृतले वडा कार्यालयबाट रकम चोरी भएकाले भत्ता बाँड्न नसकेको र यो विषय अदालतमा विचाराधीन रहेको बताएका थिए । घटनावबरे थप प्रतिक्रया माग्दा आफू राजस्व परामर्श समितिको बैठकमा भएकाले पछि कुरा गर्ने बताए । तर, त्यसयता उनको फोनमा पटक-पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन भने दुई पटक फोन लागे पनि उठाएका छैनन् ।

 

प्रशासकीय अधिकृतले एकै पटक ५० लाख निकाल्न सिफारिस गर्नु, रकम झिकेकै दिन राती वडा कार्यालयबाटै हराउनु र पालिकाले घटना लामो समय मन्त्रालयसँग लुकाउनुलाई गम्भीर रूपमा लिइएकोे छ । मन्त्रालयका अनुसार भत्ताको रकम पनि वडा कार्यालयको तर्फबाट नभई वडासचिव रावतले व्यक्तिगत खातावालाको हैसियतमा मागेको भेटिएको छ ।