close

निषेधाज्ञाबीच शिवनाथमा धमाधम विकास निर्माण (भिडियो खबर)

निषेधाज्ञाबीच शिवनाथमा धमाधम विकास निर्माण (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- वैशाखदेखि देशभर निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि भन्दै गरिएको निषेधाज्ञाका कारण संक्रमण न्यूनिकरण भइरहेको छ । तर, निषेधाज्ञाले देशभरको विकास निर्माण पनि प्रभावित भएको छ । मजदुरले काम गर्न पाएका छैनन् । काम नहुँदा दैनिक खर्च चलाउन पनि समस्या छ ।

 

केही स्थानीय तहमा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पूर्वाधार निर्माण सुरु भएको छ । महामारीका कारण पूर्वाधार विकासमा असर पुर्‍याउनु कुनै पनि हालतमा उचित नहुने भन्दै बैतडीको शिवनाथ गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत विकासका काम अघि बढाएको छ । पालिकाको यो कदमले मजदुर वर्गको चुल्हो बल्न सहज भएको छ ।

 

खासगरि सक्रिय संक्रमितको सख्या न्यून रहेको पालिकामा कामकाज सञ्चालनमा छन् । यसले गर्दा मजदुरवर्गले ज्यालाको रकमले दैनिक घरखर्च चलाउन पाइरहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम देखि सबैजसो विकास निर्माण जारी हुँदा मजदुर वर्गको चुल्हो बल्न सहज भएको छ ।

 

स्थानीय तहबाट सञ्चालन भइरहेको विकास निर्माणमा मजदुुरी गर्न पाउँदा सर्वसाधारण नागरिक घर खर्च चलाउन सजिलो भएको बताउँछन् । तर, कोरोना महामारीका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको भनेपनि त्यस्तो भएको पाइँदैन । कोरोना देखिएका मजदुरलाई काममा आउन रोग लगाइएको छ । तर, मजदुरवर्गले काम गर्ने क्रममा समेत स्वास्थ्य सर्तकतामा अनिवार्य ध्यान दिन गाउँपालिकाले पटक-पटक आग्रह गर्ने गरेको छ । 

 

हुन त जिल्लाको गाउँपालिका ग्रामिण क्षेत्रमा पर्ने र भीडभाड निकै कम हुने ठाउँ भएकाले केहीमा मात्रै संक्रमण देखिएको छ । अहिले पनि जिल्लाभरमा ३ सयको हाराहारीमा सक्रिय संक्रमित हुँदा शिवनाथमा सबै पालिकाको भन्दा न्यून संख्या एक जनामात्रै सक्रिय संक्रमित छन् । अन्य पालिका भन्दा कम जोखिममा रहेकाले समेत पालिकामा नियमित काम सञ्चालन भइरहेको छ ।

 

संघ, प्रदेश र स्थानीय तहबाट विनियोजित सबै योजना सञ्चालनमा छन् । यसले गर्दा मजदुर वर्ग, निर्माण व्यवसायी र समग्रमा गाउँपालिकालाई त फाइदा नै हुने देखिन्छ । तर कोरोनाको महामारीले जटिल रुप लिइरहेको अवस्थामा स्वास्थ्य सुरक्षा सर्तकता भने सबैले अपनाउन जरुरी छ ।