close

कोरोना संक्रमण नियन्त्रणमा जुट्यो तातोपानी 

कोरोना संक्रमण नियन्त्रणमा जुट्यो तातोपानी 

Trulli
ADVERTISEMENT

जुम्ला- कोरोना संक्रमितको व्यवस्थापनमा जुम्लाको तातोपानी गाउँपालिकाले सक्रियता बढाएको छ । जुम्लाको १ नगरपालिकासहित ७ गाउँपालिकामध्ये तातोपानी संक्रमित व्यवस्थापनमा नमुना देखिएको हो ।

 

गाउँपालिकाले ४ जना लक्षण नदेखिएका संक्रमितबाहेक सबैलाई संस्थागत आइसोलेसनमा राखेर व्यवस्थापन गरेको छ । ‘संक्रमित आइसोलेसनमा आउन मानिरहेका छैनन्,’ गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले भनिन्, ‘घरमै पुगेर कोरोना संक्रमणले पार्ने प्रभावका विषयमा सम्झाई-बुझाई गरेर आइसोेलेसनमा ल्याउने गरेका छौँ ।’

 

संक्रमितको घरदैलोमा पुगेर संस्थागत आइसोलेसनमा ल्याउने गरेको उनले जानकारी दिइन् । ‘कोरोना सामान्य रुघाखोकी हो । घरमै बसेर निको भइन्छ भन्ने मानसिकता नागरिकमा हावी छ’, उनले भनिन्, ‘त्यो मानसिकता चिर्न चुनौती छ । गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी परिचालन भएर कोरोनाबाट हुने हानिको विषयमा सचेत गराउँदै आएका छौँ ।’

 

तातोपानीमा अहिले ४७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् । तिनको गास, बास गाँउपालिकाले व्यवस्थापन गरेको छ । उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन् । चिकित्सक आइसोलेसनमै पुगेर अक्सिजनको मात्र नापजाँच गर्ने गरिरहेका छन् । स्वास्थ्यकर्मीले लक्षणअनुसारको औषधी दिने गरेका छन् ।

 

पहिले गाउँपालिकाले २० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल बनायो । अहिले ४७ जना आइसोलेसनमा छन् । संक्रमित बढे आइसोलेसन बेड बढाउन सकिने उपाध्यक्ष उपाध्यायले बताइन् । 


कोभिड अस्पतालमा १५ सिलिन्डर अक्सिजन राखिएको छ । ‘कोरोना महामारीमा आउन सक्ने सबै समस्यासँग जुध्न गाउँपालिकाले तयारी थालेको छ’, स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंले भने, ‘अहिलेसम्म संक्रमितको व्यवस्थापन र रेखदेख राम्रोसँग भइरहेको छ । नागरिकलाई कोरोनाबाट बचाउने प्रयास हुनेछ ।’

 

उनका अनुसार १९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । हरेक वडामा १ जना सूचना सम्प्रेषण गर्ने व्यक्ति नियुक्त गरिएको छ । गाउँको अवस्थाबारे नियमित रिपोर्टिङ हुन्छ । त्यसैका आधारमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ गरिन्छ । 

 

आइसोलेसनमा बसेका संक्रमित गाउँपालिकाले गरेको व्यवस्थापनप्रति खुसी छन् । नियमित रूपमा भेटघाट, छलफल गर्ने, पोषिलो खानेकुरा दिने, चेकजाँच गर्नेदेखि हौसला दिनेसम्मको काम गरिरहेको भन्दै आइसोलेसनमा संक्रमितलाई गर्ने व्यवहारप्रति सन्तुष्ट भएको उनीहरू सुनाउँछन् ।


गाउँपालिकामा उपाध्यक्ष उपाध्यायको संयोजकत्वमा जनचेतना तथा प्रचार-प्रसार समिति छ । त्यो समितिले कोरोनाका लक्षण, रोकथाम तथा नियन्त्रणका विषयमा सचेतना प्रदान गर्दै आएको छ । कोरोनाका शंकास्पद बिरामी भएको ठाउँमा तत्काल स्वास्थ्यकर्मी पठाएर चेकजाँच गर्ने गरिएको स्वास्थ्य संयोजक चौलागार्इंले बताए ।

 

गाउँपालिकामा ८ वडा छन् । सबै वडामा स्वास्थ्यकर्मी पुगेका छन् । उपाध्यक्ष उपाध्यायले कोरोना कहरमा खटिएका स्वास्थ्यकर्मीको सेवा-सुविधा थपिएको बताइन् । 

 

‘कोरोना सबैको सामूहिक समस्या हो । सामूहिक रूपमा प्रतिरोधको आवश्यकता छ’, प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले भने, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले गर्नुपर्ने सबै काम गरिएको छ ।’ गाउँपालिकाले १ र ६ नम्बर वडा सिल गरेको छ । कोरोना परीक्षणका क्रममा संक्रमित बढ्न थालेपछि गाउँ नै सिल गर्नुपरेको उनले बताए ।


तातोपानी कोरोना संक्रमणले बढी प्रभावित भएपछि बुधबार प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा स्वास्थ्य सामग्री लिएर गाउँका आइसोलेसन सेन्टर र कोभिड अस्पतालमा पुगेका थिए । उनले तातोपानीमा आइसोलेसन सेन्टर, आइसोलेसनमा बसेका संक्रमित र कोभिड अस्पतालको अवस्था बुझेर गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरे ।

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी थापाले पिपिई र गमबुट २० सेट, स्यानिटाइजर ३० बोतल र ५ ग्यालेन, मास्क एन९५ ५० पिस, सर्जिकल मास्क ५० बक्स, एलआर थर्ममिटर ५ पिस, फेस सिल्ड ८० पिस, लुज ग्लोब्स ५ प्याकेट, सर्जिकल ग्लोब्स ५ प्याकेटट, सोडियम हाइड्रोक्लोराइड सोलुसन ३ ग्यालेन, स्यानिटरी प्याड १० पिस र अक्सिमिटर ४ पिस तातोपानी गाउँपालिकालाई हस्तान्तरण गरे ।

 

प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘कठिन अवस्थामा संक्रमिलाई हौसला र भरोसा आवश्यक छ । त्यही भरोसा दिन आइसोलेसन सेन्टरमा पुगेको हुँ ।’