close

सहरबाट गाउँ पस्यो कोरोना

सहरबाट गाउँ पस्यो कोरोना

Trulli
ADVERTISEMENT

तनहुँ- कोरोना महामारीको दोस्रो लहरको सुरुआतमा तनहुँका सहरी क्षेत्रमा संक्रमितको बिगबिगी थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि सहर बसेकाहरू गाउँ पसे । गाउँ पस्न र बाहिरन कुनै रोकतोक छैन । पूजापाठ, भोजभतेर पनि निर्वाध भइरहे । यसैको प्रतिफल सहरियालाई आतंकित बनाएको कोरोना अहिले गाउँतिर पसेको छ ।

 

कतिपय गाउँमा त भुसको आगोझैं कोरोना फैलिएको छ । बरु सहरमा सावधानी अपनाउदा विस्तारै संक्रमण दर घट्दो देखिन्छ । गाउँलेकै लापर्वाहीले कोरोना फैलिरहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउँछन् ।

 

उनी भन्छन्, ‘गाउँमा सावधानी नै अपनाइएको छैन । खेतीपाती सँगै गर्छन् । चौतारोमा सँगै बसेर गफिन्छन् । गाउँमा मास्क अनिवार्य पनि छैन । मापदण्डको पालना हुँदैन । एक जना संक्रमितले सयौँलाई फैलाउँछ ।’ 


शुक्लागण्डकीमा हाल सक्रिय संक्रमितको संख्या २५० पुगेको छ । पछिल्ला सातामा परीक्षण भएका स्वाबको पिसिआर रिपोर्टमा पोजेटिभ हुनेको संख्या गाउँ र सहरी क्षेत्रमा उस्तै-उस्तै छ ।

 

होम आइसोलेसनले पनि संक्रमण फैलनलाई बढावा दिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवको विश्लेषण छ । कोरोना नियन्त्रणको जिम्मेवारी स्वास्थ्यकर्मीको मात्रै हो भन्ने गलत बुझाइ सर्वसाधरणमा रहेको दुखेसो उनको छ ।  ‘जति दायित्व स्वास्थ्यकर्मीको छ, त्यति नै घरपरिवार, नागरिक समाज, टोलको र जनप्रतिनिधिको छ’, उनले भने । 


कोरोनालाई नियन्त्रण गर्नलाई सबै पक्ष मिलेर गाउँमा निगरानी बढाउनुपर्नेमा उनले जोड दिए ।  भीमादका गाउँ-गाउँमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने बिरामी थुप्रै छन् । नगरपालिकाको स्वास्थ्य शाखाले गाउँमा पुगेर सर्वसाधरणको एन्टिजेन परीक्षण गरिरहेको छ । 


भीमादको वडा नम्बर २ को जलौदीमा एकै दिन ७० जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनालाई पोजेटिभ पुष्टि भयो । डरलाग्दो तरिकाले गाउँघरतिर संक्रमण फैलिएको भीमाद स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बरालले बताए ।

 

निषेधाज्ञापछि जोखिमयुक्त ठाउँमा रहेकाहरू ह्वात्तै गाउँ पसेकाले गाउँघरमा संक्रमणको स्थिति भयावह भएको उनको भनाइ छ । उनका अनुसार गाउँमा संक्रमण फैलनुको अर्को कारणमा बिहे, व्रतबन्ध र भोजभतेर पनि हो । ‘१/२ जनालाई संक्रमण भयो भने यो मेरो छोरा हो, भाइ हो भन्ने । सँगै बस्ने, खाने । यस्तै–यस्तै कारणले गाउँमा कोरोना फैलियो’, उनले भने । 


गाउँमा फैलिएको कोरोना नियन्त्रणका लागि एन्टिजेन परीक्षणको दायरा बढाएकामा बिरामी परेकाले परीक्षण गर्न नमानेको उनले सुनाए । ‘संक्रमण भए सिटामोल खाने, घरायसी औषधी खाएर २–४ दिनमा निको भएका धेरै छन्’, उनले भने, ‘संक्रमण भए गाउँ, समाजले नराम्रो दृष्टिले हेर्न भएकाले पनि परीक्षण गर्न चाहँदैनन् ।’ 

 

जटिल अवस्था पुगेपछि मात्रै उपचार खोज्ने प्रवृत्तिले संक्रमण र मृत्यु दरमा वृद्धि भइरहेको छ । तनहुँमा हाल ११६३ जना सक्रिय संक्रमित छन् । दोस्रो लहरको कोरोना फैलिएपछि जिल्लामा १६ हजार ८ सय २ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा ३ हजार ८ सय ७४ लाई पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

 

तीमध्ये ९३ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय १८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । सबैभन्दा धेरै व्यास नगरपालिकामा संक्रमित छन् । मृत्यु हुनेको संख्या भने शुक्लागण्डकीमा उच्च देखिन्छ ।