close

कुश्माका स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता

कुश्माका स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता

Trulli
ADVERTISEMENT

पर्वत– पर्वतको कुश्मा नगरपालिकाले स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । कुश्मा नगरपालिकाको बिहीबार बसेको बैठकले फ्रन्टलाइनर स्वास्थ्यकर्मीले पाउँदै आएको तलबको शतप्रतिशत र कार्यालयमा रहने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

 

नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, प्रमुख प्रसासकीय अधिकृत कुमानसिंह गुरुङसहित वडाअध्यक्षहरू र स्वास्थ्य शाखाका कर्मचारीको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाका सबै स्वास्थ्य संस्थाका इन्चार्जलाई कोभिड फोकल पर्सनको रूपमा तोक्ने पनि निर्णय भएको छ । 

 

यस्तै ३० जेठमा सबै वडामा भेरोसेल खोप लगाउने निर्णय गरिएको छ । सबै १४ वटै वडामा ६४ वर्ष उमेर पुगेकालाई अनिवार्य लगाउने र बाँकी रहेको खोप ६३ र ६२ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरिएको छ । 

 

सरकारले कम खोप दिएपछि सबैजसो वडामा ६२ देखि ६४ वर्ष उमेर समूहका सबैलाई खोप पुग्ने सम्भावना कम छ । कुश्माका जनप्रतिनिधिले अहिले आएको खोप कम आएको र केही दिनमा थप खोप आउने भएकाले समस्या बुझिदिन नगरबासीमा आग्रह गरेका
छन् ।

 

नगरप्रमुख जोशीले सरकारले नै मागभन्दा कम खोप पठाएकाले मागअनुसारको खोप व्यवस्थापन गर्न नसकिएको बताए । नगरपालिकाले चाहँदैमा सबैलाई खोपको व्यवस्थापन गर्न नसकिने उनको भनाइ छ ।

 

स्वास्थ्य शाखाका अनुसार कुश्मा नगरपालिका वडा नम्बर १ मा ६५, वडा नम्बर २ मा ५७, वडा नम्बर ३ मा ४३ जनालाई खोप लगाइने भएको छ । वडा नम्बर ४ मा ४४, वडा नम्बर ५ मा ६२, वडा नम्बर ६ मा ५७ जनाका लागि खोप उपलब्ध गराइएको छ ।

 

वडा नम्बर ७ मा ३५, वडा नम्बर ८ मा ३१, वडा नम्बर ९ मा ३०, वडा नम्बर १० मा ३४ , वडा नम्बर ११ मा ३१, वडा नम्बर १२ मा ३४, वडा नम्बर १३ मा ३० जना र वडा नम्बर १४ मा ३७ जनालाई खोप लगाइनेछ ।  एउटा वडाका व्यक्ति अर्को वडामा गएर खोप लगाउन नपाइने र अर्को पालिकाका व्यक्तिलाई पनि नलगाइने स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले जानकारी दिए ।