close

गाउँपालिका अध्यक्षको विज्ञप्तिः गाली-बेइज्जतीका लागि तयार भएर बस्नू !

गाउँपालिका अध्यक्षको विज्ञप्तिः गाली-बेइज्जतीका लागि तयार भएर बस्नू !

Trulli
ADVERTISEMENT

नुवाकोट- नुवाकोटको पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले सामाजिक सुरक्षा भत्ता चोरीका विषयमा खबर लेख्ने सञ्चार माध्यमलाई गाली-बेइज्जतीको मुद्दा खेप्न तयार भएर बस्न धम्की दिएका छन् । 


पालिकाकोको वडा नम्बर २ कार्यालयबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी भएको खबर पालिकाखबरले प्रकाशन/प्रसारण गरेपछि उनले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् । 


उनले चोरी प्रकरणमा आफू र प्रशासकीय अधिकृतलाई चोर भन्न खोजेकाले कानुनी उपचार खोज्ने भन्दै विज्ञप्ति सार्वजनिक गरेका हुन् ।


 २४ चैत २०७६ मा सामाजिक सुरक्षा भत्ताका लागि भन्दै बैंकबाट एकै पटक झिकिएको ५० लाख र वडा कार्यालयमा भएको ३ लाखसमेत गरेर ५३ लाख रुपैयाँ सोही दिन राती चोरी भएको विषयमा पालिकाखबरले खबर प्रकाशन/प्रसारण गरेको थियो । 


हेर्नुहोस् खबर

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ वडा कार्यालयबाटै गायब

भत्ता चोरीमा प्रशासकीय अधिकृतदेखि पालिका अध्यक्षसम्म शंकाको घेरामा

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)


खबर प्रकाशन प्रकाशन भएपछि पालिका अध्यक्षले विज्ञप्ति जारी गर्दै सो खबरका कारण आफ्नो र प्रशासकीय अधिकृतको गाली-बेइज्जती भएको दाबी गरेका छन् । 


पालिकाखबरले प्रकाशन गरेको पहिलो खबरमा कसरी चोरी भयो भन्ने विषयमा पालिका अध्यक्ष तामाङले जानकारी दिएका छन् भने दोस्रो खबरमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले घटना शंकास्पद भएको विवरण छ । 


मन्त्रालयले प्रशासकीय अधिकृतमाथि प्रत्यक्ष र पालिका अध्यक्षमाथि अप्रत्यक्ष संलग्नताको आशंका गरेको विषयमा खबर प्रकाशन भएपछि गाउँपालिका अध्यक्षको विज्ञप्ति सार्वजनिक भएको हो । 


विज्ञप्तिमा चोरीको घटनामा सञ्चारमाध्यम न्यायाधीश हुन खोजेको भन्दै आपत्ति जनाउँदै लेखेका छन्, ‘पालिकाखबरडटकम र दैनिकी डटकममार्फत हामीप्रति हुन पुगेको मानहानिविरुद्ध कानुनीलगायत अन्य जुनसुकै तबरले उपचार खोज्न आफू तयार रहेको र सोको प्रतिवादको तयारी अवस्थामा रहनुहुन निज मिडियाहरूलाई चुनौती पेस गर्दै यो विज्ञप्ति जारी गर्दछौँ ।’


कानुनी उपचारलगायतका अन्य जुनसुकै तवरले उपचार खोज्ने भनेर के गर्ने भन्न खोजेको हो भन्ने विषयमा भने विज्ञप्ति मौन छ । 


विज्ञप्तिमै चोरीको घटना ढिला गरी मन्त्रालयलाई जानकारी गराइएकामा मन्त्रालय असन्तुष्ट रहेको बताइएको छ भने प्रशासकीय अधिकृतले पालिकाखबरसँग मन्त्रालयले आफूलाई स्पष्टीकरण सोधेको र त्यसको जवाफसमेत लेखेको उल्लेख गरेका छन् ।