close

गाउँपालिकाको नाम सच्याउन स्थानीयको माग

गाउँपालिकाको नाम सच्याउन स्थानीयको माग

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको नाम सिरिजंगा हुनुपर्ने भन्दै स्थानीयले सच्याउन माग गरेका छन् । किराती लिपिका पुनरुत्थापक, प्रचारक तथा अध्यात्मवादी समाज सुधारकका रूपमा चिनिएका ऐतिहासिक व्यक्तित्व सिरिजंगा सिङ् थेबेको नामबाटै गाउँपालिकाको नामकरण गरिएको हो ।


उनै व्यक्तित्वको नाममा नामकरण गरिएको गाउँपालिकाको नाम सिरिजंगा हुनुपर्नेमा सिरिजंघा भएकाले सच्याउन माग भएको हो ।

 

उक्त गाउँपालिकाको नाम परिवर्तन गराउन ‘सिरिजंगा नाम सुधार अभियान समिति’ नै गठन गरेर अभियान सुरु गरिएको छ । गाउँसभाबाटै नाम सच्याउन गाउँपालिका कार्यालयमा निवेदन पेस गरिसकेको समितिका संयोजक कैलास माबोले बताए ।

 

नाम बिग्रिएर अर्थात् अपभ्रंश भएर इतिहास नै नामेट हुने अवस्था आएकाले नाम सुधार अभियान सुरु गरेको माबोको भनाइ छ । लिम्बू इतिहासमा राजा सिरिजंगाको अवतार ‘त्येअङ्सी सिरिजंगा’ भनेर चिनिँदै आएका सिरिजंगा नै यथार्थ नाम भएको प्रमाण रहेको दाबी नाम सुधार अभियान समितिले जनाएको छ ।

 

समितिका अनुसार विसं. १७६१ मा जन्मिएका सिरिजंगासँग सम्बन्धित विभिन्न लेख र २०४९ मा प्रकाशित हुलाक टिकटमा पनि सिरिजंगा नै उल्लेख छ । यिनै सबुत प्रमाणसहित नाम सुधार्न पहिलो पटक गाउँपालिका कार्यालयलाई निवेदन दिइएको समिति संयोजक माबोले बताए ।