close

कटारीमा खोप: सुगममा भटाभट, दुर्गमका हेरेकाे हेर्‍यै

कटारीमा खोप: सुगममा भटाभट, दुर्गमका हेरेकाे हेर्‍यै

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको कटारी नगरपालिकामा २१२ जनाले कोरोनाविरुद्धको भेरोसिल खोप लगाएका छन् । कटारी अस्पतालको केन्द्रमा बुधबार र बिहीबार २ दिन खोप लगाइएको थियो ।

 

बुधबार ५० जना र बिहीबार १६२ जनाले खोप लगाएको कटारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले जानकारी दिए । ६२ देखि ६४ वर्षसम्मको उमेर समूहकालाई पहिलो मात्राको खोप लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

खोप लगाउने क्रममा अन्य उमेर समूहकाले समेत पहुँचका आधारमा खोप लगाउन दबाब दिएका थिए । तर, मापदण्डको उमेर समूहकालाई मात्रै लगाइएको प्रमुख दाहालले बताए ।  कटारी नगरपालिकाका ६ वटा वडा दुर्गम भेगमा पर्छन् । कटारी नगरपालिका वडा नम्बर १४ घुर्मीबाट खोप केन्द्रसम्म आउन ४६ किलोमिटर लाग्छ ।

 

दुर्गम क्षेत्रका वडाध्यक्षहरूले भने निषेधाज्ञाका कारण वडाबाट खोप लगाउन सेवाग्राहीलाई कटारी अस्पताल ल्याउन नसकिएको बताए । कोरोनाको संक्रमणका बेला वडाका स्वास्थ्य चौकीबाट खोप लगाउन सके मात्रै सबैले खोप लगाउन सक्ने उनीहरूको भनाइ छ ।

 

वडा नम्बर ८ का वडाध्यक्ष कमल श्रेष्ठले कटारी बजारको अस्पताललाई केन्द्र बनाएर खोप लगाउँदा कटारी नगरपालिका वडा नम्बर ६ का वडाबासी वञ्चित हुनुपरेको गुनासो गरे । केन्द्र निर्धारण गर्दा पहाडी वडालाई विभेद गरिएको श्रेष्ठले आरोप लगाए । 

 

वडा नम्बर ११ का वडाध्यक्ष दीपक बुढाक्षेत्रीका अनुसार टाढाका वडाबाट कटारी अस्पतालमा आउन समस्या भएकाले खोपबाट वडाबासी वञ्चित भएका हुन् ।

 

नगरपालिकाको पहाडी भेगबाट खोप लगाउन आउन समस्या भएकाले शुक्रबार नगरको ८ देखि १४ नम्बर वडाका लागि वडामै केन्द्र बनाएर खोप लगाउन जाने तयारी गरिरहेको प्रमुख दाहालले बताए ।