close

कृषि उपज बिक्री गर्न रम्भामा गुड्यो कृषि एम्बुलेन्स (भिडियो खबर)

कृषि उपज बिक्री गर्न रम्भामा गुड्यो कृषि एम्बुलेन्स (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- तपाईंले पक्कै पनि बिरामी बोक्ने एम्बुलेन्सको बारेमा त सुन्नुभएको होला । तर, के तपाईलाई कृषि एम्बुलेन्स पनि हुन्छ भन्ने कुरा थाहा छ ? सुन्दा, अचम्म लाग्न सक्छ । तर, गाउँघरमा कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले खेतबारी र बोटमै रहेका कृषि उपजको बिक्री गर्न कृषि एम्बुलेन्सको सुरुवात गरिएको छ । किसानले वर्षभरी गरेको मिहिनेत, लगानी र परिश्रमको उपज कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन पाल्पाको रम्भा गाउँपालिकाले समेत कृषि एम्बुलेन्सको सुरुवात गरेको छ । 

 

रम्भा गाउँपालिका–१ हुँगी अर्सेदीकी मिहिनेती कृषक कुविजा बस्याल अर्याललाई लागेको थिएन, यस वर्ष कृषि उपजले बजार पाउला भनेर । गत वर्ष जस्तै यस वर्ष पनि रम्भा गाउँपालिकाले कृषि एम्बुलेन्स गाउँको टोलटोलमा गुडाउन सुरु गरेपछि उनी हर्षित छिन् । १५ वर्ष शिक्षण पेशामा समेत आवद्ध भई उमेर ढल्केका सासु ससुराको सेवासँगै कृषिमा कर्ममा होमिएकी अर्याललाई अहिले कृषि उपज नबिक्ने हो कि भन्ने कुनै चिन्ता नै छैन् । 

 

अर्याल जस्तै हुँगी अर्सेदीकी सूचना ज्ञवालीलाई पनि डोकोमा बोकेर कृषि उत्पादनलाई छिमेकी जिल्ला स्याङ्गजाको मालुङ्गगा, गल्याङ लैजानुपर्ने बाध्यता थियो । अहिले गाउँपालिकाले घरबाटै कृषि एम्बुलेन्स मार्फत उत्पादनलाई खरिद गरेर बिक्री गरिदिएको छ । व्यापारी कहिले खरिद गर्न आउँलान भनेर घरको खेतबारीमा कुरेर बस्दा आधा भन्दा बढी तरकारी कुहिएर जाने गर्दथ्यो । तर, कृषि एम्बुलेन्स उनीहरूको समस्याको समाधान भएको छ । 

 

गाउँपालिकाले उपहार समाजिक उद्यमी महिला सहकारी संस्था र हेफर इन्टरनेसनल नेपालको  सहकार्यमा कृषि एम्बुलेन्स सञ्चालन गरेको हो । गाउँगाउँमा पुगेर सेवा लिने र दिने काम गरेको कृषि एम्बुलेन्स कार्यक्रमले किसानमा थप उत्साह र हौसला बढाएको छ । गाउँपालिकाले बोकेको रम्भा गाउँपालिकाको शान, सुखी रम्भाबासी, समृद्ध रम्भा, हाम्रो अभियानलाई सार्थकता प्रदान गर्न गाउँपालिका  प्रयत्नशील छ । 


हप्ता दिन अघिबाट नै कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको भएपनि मौसमको प्रतिकुलताको कारण करिडोर सडक खण्डमा गएको पहिरोले केही दिन ढिला हुन भयो । प्रत्येक वडाको टोलटोलमा मोटरबाटो विस्तार भएकाले विशेष गरि हुँगी, अर्सेदी क्षेत्रमा बढी उत्पादन हुने लिचीको उचित मुल्य सहितको बजारीकरणमा कुनै समस्या नभएको पालिकाको दावी छ । यदि लिची विक्री नभए जानकारी गराउन गाउँपालिकाले आग्रह गरेको छ ।


रम्भा गाउँपालिका वडा नं १ अर्सेदीमा एक कार्यक्रमको आयोजना गरि सुरु गरिएको कृषि एम्बुलेन्स कार्यक्रममा पालिकाको विभिन्न बजार क्षेत्रमा लगेर किसानको उत्पादनलाई विक्रि गर्ने लक्ष्य पालिकाले लिएको छ । कृषि एम्बुलेन्स  मार्फत बेसीको उत्पादन लेकमा र लेकको उत्पादन बेसीमा ल्याएर बजार सन्तुलन कायम गर्ने लक्ष्य अनुरुप रम्भाको हुँगी, फोकसिङ्गकोट, ताहुँ, पिपलडाँडा, अगाहाखोला लगायतको स्थानीय बजारमा कृषि एम्बुलेन्सले कृषि उपज पुर्‍याउने गरेको छ । 


कृषको माग र उनिहरुलाई कृषि कर्ममा निरन्तरता प्रदान गरेर हौसलाको लागि कृषि एम्बुलेन्स प्रभावकारी भएको छ । कृषि एम्बुलेन्समार्फत लिचि, आलु, कुरिलो, बन्दा, खुर्सानी, सेबि, बोडी, भान्टा, साग लगायतको उपजको संकलन गरि बिक्रीका लागि बजार पठाउने गरिएको छ ।