close

निषेधाज्ञाको मारमा भक्तपुरका पुष्प व्यवसायी (भिडियो खबर)

निषेधाज्ञाको मारमा भक्तपुरका पुष्प व्यवसायी (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर-आँखालाई शितलता प्रदान गर्न पनि फूलको निकै महत्व छ । रंगीचंगी फूल देख्दा कसको मन प्रफुल्लित नहोला र ? कसलाई फूलसँगै घुलमिल हुन मन नलाग्ला ? धेरैले रोजीरोटी धान्नको लागि पनि फूललाई मुख्य पेशा बनाई फूल खेतीमा आवद्ध हुनेको संख्या पनि कम छैन । तर, नयाँ भेरियन्ट सहित फैलिएको कोरोना भाइरसले भक्तपुरका फूल व्यवसायी मर्कामा परेका छन् ।

 

निषेधाज्ञामा कृषि क्षेत्रको दुध, खाद्यान्न लगायत आवश्यक सामग्री विक्रि वितरण गर्नको लागि अनुमति दिएतापनि फूल ओसारप्रसारमा प्राथमिकतामा नपर्दा लाखौँ मूल्यको फूल कुहिएका छन् । स्थानीय सरकारले पहल नगर्दा नगरपालिकाकै लागानीमा, अनुदानमा र सहयोगमा फूल खेती गरेका स्थानीय अहिले मर्कामा परेका छन् । सजावटका लागि मात्रै होइन धार्मिक र अन्य प्रयोजनका लागि फूलको निकै महत्व हुन्छ ।

 

नेपाली समाजमा त शुभकार्यमा यसको आवश्यकता पर्छ नै । तर, निषेधाज्ञाका कारण फूल विक्री हुन सकेको छैन । फक्रिएको फूललाई निश्चित समयमा टिपेर बेच्नुपर्ने भएपनि निषेधाज्ञाका कारण फूल बेच्न नमिलेपछि कयौँ व्यावसायिक कृषकले फूललाई मलको खाडलमा कुहाएका छन् । एक महिनायता मात्रै करिव ३० हजार फूलका थुंगा मलमा कुहाउने परेको गुनासो कृषकको छ । एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्मका सञ्चालक रामेश्वर बासीका अनुसार प्रति थुंगाको २५ रुपैयाँ पर्दछ । एक महिनामा मात्रै ७ लाख २५ हजार रुपैयाँको फूल मलको खाडलमा कुहिएको छ । 


व्यावसायिक फूलखेतीका लागि उनले ६ रोपनी जग्गा भाडामा लिएका छन् । ६ रोपनीमध्ये ४ रोपनीमा फूल खेतीका लागि आधुनिक प्लाष्टिक टनेल बनाएका छन् । त्यही टनेलभित्र मनमोहक तरिकाले एकै नाशले ६ थरिका जर्बेरा, कार्नेस, लिमोनियम, गुलाफ, स्टाटिक्सलगायतका सजावटका लागि प्रयोग गरिने फूलका विरुवा रोपेका छन् ।

 

फूलको संरक्षणका लागि केही व्यक्तिले रोजगारी समेत पाएका छन् । बहुवर्षीय उद्देश्यले लगाइएको फूलले ५ वर्ष सम्म आम्दानी लिन सकिने भएपनि विक्रि गर्न सकिएको छैन । फूल खेतीको लागि प्रसिद्ध रहेको भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका स्थानीय फूल खेतीमा आवद्ध छन् । सूर्यविनायकको गुण्डुका एक सय र चित्तपोलको करिब २५ घर फूल खेतीमा आत्मनिर्भर रहेको पालिकाको दावी छ । त्यसको लागि पालिकाले फूलको विरुवाको लागि अनुदान समेत दिइदै आएको छ । 

कुन पालिकामा कति फूल खेती ?
 

सूर्यविनायक नगरपालिका: एक सय २५ घर
चाँगुनारायण नगरपालिकाः २० व्यावसायिक फार्म
मध्यपुर थिमि नगरपालिकाः दैनिक पूजा गर्नको लागि
भक्तपुर नगरपालिकाः आंशिक

 

भक्तपुरका उत्पादन भएका फूल उपत्यका भित्रका मुख्य बजारमा विक्रि हुने गरेका छन् । त्यसका लागि कृषक आफैले व्यापारीसँग सम्पर्क राखी विक्रि गर्दै आएका छन् । स्थानीय सरकारले फूल खेतीका लागि बजारको व्यवस्थापन गर्न सकेको छैन । यसले गर्दा व्यवसायी थप मारमा परेका छन् । तर, पालिकाले भने समयसमयमा कृषकको खेतीमा गएर अनुगमन गर्ने, किरा लागेको छ वा छैन लगायतका प्राविधिक कुरालाई व्यवस्थापन भने गरिरहेको छ । चाँगुनारायण नगरपालिकाले कृषकका लागि क्रेडिट कार्ड, ५० प्रतिशतको अनुदान दिने कार्यक्रम ल्याएपनि बजार व्यवस्थापनमा ध्यान दिन सकेको छैन । जसले गर्दा निषेधाज्ञामा लाखौँ मूल्य पर्ने फूलाई कुहाउनुको बाध्यता आउन पुग्यो ।