close

मुख्यमन्त्रीको ठोकुवा: बहुमत गुमेको दिन एक मिनेट पनि पदमा रहन्नँ 

मुख्यमन्त्रीको ठोकुवा: बहुमत गुमेको दिन एक मिनेट पनि पदमा रहन्नँ 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद्भित्रको राजनीतिक अंकगणितलाई मात्रै विश्वास गर्ने बताएका छन् । शुक्रबार बसेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले बहुमत गुमेको दिन एक मिनेट पनि सरकारमा नबस्ने घोषणा गरे ।


‘म अराजनीतिमा विश्वास गर्दिनँ । राजनीतिक रूपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा रहनुहुँदैन भन्ने लाग्छ’, मुख्यमन्त्री पोखरेलले भने । प्रदेशसभाका ४ जना सदस्यको सवालमा स्टे अर्डर जारी गरेको बताउँदै संसद्भित्र राजनीतिक अंकगणित बलियो रहेको दाबी गरे ।

 

प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विशेष कार्यक्रममा प्रतिपक्ष अनुपस्थित भएको भन्दै सत्तापक्षसँग बहुमत भएको मुख्यमन्त्री पोखरेलले दाबी गरेका थिए । यसले सरकारमा बहुमत र अल्पमतको विषयको विवाद अन्त्य गरेको उनको भनाइ छ ।

 

पोखरेलले मुख्यमन्त्रीमा आफ्नो पुनर्नियुक्तिपछि देखापरेका नाटकीय प्रभावले राजनीतिमा अस्वस्थताको प्रवेश भएको उल्लेख गरे । ५ वर्षसम्म दिएको म्यान्डेट पालना गर्न चुकेको भन्दै राजनीतिक दलका अगाडि नैतिक प्रश्न उठेको मुख्यमन्त्रीको जिकिर छ ।

 

मुख्यमन्त्री पोखरेलको जवाफपछि सरकारको नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षकाले हुन्छ भन्ने ध्वनि मत दिएका थिए । विपक्षी गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले हुन्न भनेका थिए ।

 

तर, हुन्न भन्ने ध्वनि मत कम भएकाले सभामुख घर्तीले बहुमतले पारित भएको घोषणा गरे । मुख्यमन्त्रीले सम्बोधनपछि एमालेका प्रमुख सचेतक भूमेश्वर ढकालले धन्यवाद ज्ञापन र सांसद सरस्वती गौतमले प्रदेशमा प्रस्तुत नीति तथा कार्यक्रमको सम्बोधनमा समर्थन गरेकी थिइन् ।