close

नमोबुद्धका किसानले पाए ८० प्रतिशत अनुदानमा भैँसी 

नमोबुद्धका किसानले पाए ८० प्रतिशत अनुदानमा भैँसी 

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न र आयस्तर बढाउन अनुदानमा उन्नत जातका भैँसी वितरण सुरु गरेको छ । नगरपालिकाले शुक्रबार वडा नम्बर १० बाट किसानलाई भैँसी वितरण सुरु गरेको हो । 

 

कार्यक्रममा वडा नम्बर १० का ५५ जना पशुपालक किसानलाई थोरे भैँसी वितरण गरिएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा भैँसी वितरण गरिएको हो । 

 

नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले चुनावी प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जाने क्रममा कृषि र पशुपालनमा नगरका किसानलाई व्यावसायिक बनाएर आयस्तर बढाउने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको जानकारी दिए । नगरप्रमुख तिमल्सिनाका अनुसार दूधमा आत्मनिर्भर बनिसकेको नगरपालिकामा पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउन अनुदानमा भैँसी वितरण सुरु गरिएको हो ।

 

यही आर्थिक वर्षमा अनुदानमै नगरका किसानका लागि उन्नत जातका बाख्रा वितरण हुँदै छ । यसका लागि बाख्रा खरिद प्रक्रिया अघि बढाइसकिएको तिमल्सिनाले जानकारी दिए ।

 

वडा नम्बर १० को कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर ९ का वडाध्यक्ष एवं नगरपालिकाका कृषि समिति संयोजक मेलबहादुर लामा, वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारी, नगरपालिकाको पशु विकास शाखाका प्रमुख चिरञ्जीवी शर्मालगायतले किसानलाई भैँसी वितरण गरेर अभियान सुरु गरे ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले यो वर्षबाट सुरु भएको भैँसी वितरण कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने बताए । उनले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको जानकारी दिए । अनुदानमा वितरण गरिएका भैँसीको बिमासमेत गरिएको छ । 

 

वडा नम्बर ९ का वडाध्यक्ष लामाले नगरपालिकाले कृषि र पशुपालन क्षेत्रको विकासका लागि विगतदेखि नै कार्य गर्दै आएको र त्यसैको निरन्तरतास्वरूप यो वर्षदेखि उन्नत जातका भैँसी वितरण गर्न थालिएको बताए । नगरमा कृषि र पशुपालन क्षेत्रको विकासका लागि थय कार्ययोजनासमेत बनाइएको उनको भनाइ छ ।

 

वडा नम्बर १० का वडाध्यक्ष अधिकारीले वडामा वितरण गरिएका भैँसीमध्ये सबैभन्दा पहिला सुत्केरी हुने भैँसीपालक किसानलाई १० हजार रुपैयाँ पुरस्कार दिइने घोषणा गरे । अधिकारीका अनुसार वडा समितिले एकल महिला, असहाय र लामो समयदेखि पशुपालन क्षेत्रमा लागेका किसानलाई प्राथमिकताका आधारमा भैँसी वितरण गरेको हो ।

 

छुट भएका किसानका लागि आगामी वर्षको कार्यक्रममा समेटिने अधिकारीले जानकारी दिए । उनका अनुसार वडा कार्यालयमा आवेदन दिएकामध्ये छनोटमा परी अनुदानमा भैँसी प्राप्त गर्ने किसानले २० प्रतिशत रकम लगानी गर्नुपर्नेछ भने बाँकी रकम नगरपालिकाले बेहोरेको छ । यसमा बिमा रकमसमेत समावेश हुने अधिकारीले बताए ।

 

नमोबुद्धले भैँसी वितरण कार्यक्रमका लागि नगरपालिकाबाट २१ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने संघीय सरकारबाट पनि २१ लाख ३३ हजार रुपैयाँ प्राप्त गरेको छ ।

 

यस्तै, प्रदेश सरकारबाट १२ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । चालू आर्थिक वर्षमा वडा नम्बर १० का लागि ५५, ९ मा ४०, ८ मा २५, ११ मा २० र १ मा १५ जना गरी १ सय ५५ जना किसानलाई १ सय ५५ वटा उन्नत जातका भैँसी वितरण गरिनेछ ।

 

नगरपालिकाले डेढ वर्ष उमेर पुगेका मुर्रा जातका भैँसी वितरण गरेको पशु शाखा प्रमुख चिरञ्जीवी शर्माले जानकारी दिए । उनका अनुसार भैँसी वितरण कार्यक्रमपछि आगामी वर्ष भैँसीलाई सुत्केरी भत्ताको व्यवस्थासमेत गरिनेछ । 

 

नमोबुद्धले चालू आर्थिक वर्षबाटै अभियानकै रूपमा पशु बिमा कार्यक्रम सुरु गरिसकेको छ । अहिलेसम्म वडा नम्बर १० मा ४ सय बढी पशुको बिमा गरिसकिएको छ भने अहिले वडा नम्बर ९ मा अभियान सञ्चालन भइरहेको छ ।

 

चालू आर्थिक वर्षमै वडा नम्बर ४ र ५ मा १२५ वटा बाख्रा वितरणको कार्यसमेत गरिँदै छ । यसका लागि टेन्डर आह्वान भई खरिद प्रक्रिया सुरु भइसकेको नगरपालिकाले जनाएको छ ।