close

अछाममा खुल्यो सबैभन्दा ठूलो नर्सरी

अछाममा खुल्यो सबैभन्दा ठूलो नर्सरी

Trulli
ADVERTISEMENT

अछाम- अछाममा पहिलो पटक निजी क्षेत्रको लगानीमा सबैभन्दा ठूलो नर्सरी सञ्चालनमा आएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ५ को खाली जग्गामा नर्सरी सञ्चालन भइरहेको हो ।

 

वडा नम्बर ५ का युवा उद्यमीको सक्रियतामा ५० लाख रुपैयाँ लगानीमा सहयोगी नामक नर्सरी ३ वर्षदेखि सञ्चालनमा रहेको लगानीकर्तामध्येका गणेशप्रसाद ढुंगानाले बताए ।


जिल्लाका कृषकलाई बोटबिरुवा सहजै उपलब्ध गराउने र जिल्लाबाहिर पनि निर्यात गर्ने लक्ष्यका साथ नर्सरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।


ढुंगानाले भने, ‘केही समय पहिले अछामबाट बोटबिरुवा अन्य जिल्लामा निर्यात गरिन्थ्यो । अचेल धमाधम ट्रकका ट्रक बाहिरबाट बोटबिरुवा आइरहेका छन् । त्यसैले जिल्लाका कृषकलाई यही बोटबिरुवा दिनुपर्छ भनेर हामीले नर्सरी सुरु गरेका हौँ ।’ 


प्रत्येक वर्ष जिल्लाका कृषक र जिल्लाबाहिर बोटबिरुवा निर्यात गर्ने नर्सरीको लक्ष्य छ । बाँकी रहेको जग्गामा अहिले ओखर र किबी खेती सुरु गरिएको छ । ५ सय रोपनी क्षेत्रफल रहेको जग्गामा थप २ हजार बोटबिरुवा लगाइएको छ । 


हाल निर्यात गर्ने मिल्ने बोटबिरुवमा इमिला, जुनार, सुन्तला, कागती, अनार र टिमुर रहेको उनले जानकारी दिए । नर्सरीमा थप रुद्राक्ष, अलैँची, सतुवालगायत बोटबिरुवाको खेती सुरु गरिएको छ । 


बाँझो रहेको जग्गा प्रयोगमा ल्याउने र फलफूल क्षेत्रका रूपमा विकास गरेर नमुना नर्सरी बनाउने अबको लक्ष्य रहेको ढुंगानाले सुनाए । अहिले नर्सरीमा कुखुरापालन सुरु गरिएको र अब तरकारी खेती, पशुपालन गर्ने योजना रहेको उनको भनाइ छ । 


‘सहयोगी नर्सरीमा हाल ८ जना बढीको लगानी छ’, ढुंगानाले भने, ‘लगानी थप र नर्सरी विस्तार हुने क्रम जारी छ । अहिले नर्सरीलाई ५ लाख रुपैयाँको सहयोग मंगलसेन नगरपालिकाको रहे पनि अन्य क्षेत्रबाट सहयोग पाएका छैनौँ ।’