close

म्यासेन्जरदेखि इमेलबाटै योजना माग 

म्यासेन्जरदेखि इमेलबाटै योजना माग 

Trulli
ADVERTISEMENT

खोटाङ– कोभिड–१९ महामारीका कारण खोटाङका स्थानीय तहको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माण प्रक्रिया प्रभावित भएको छ । कोभिड–१९ संक्रमणले एक ठाउँमा भेला हुने र छलफल गर्ने अवस्था नभएका कारण नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माण प्रक्रिया प्रभावित बन्न पुगेको हो ।

 

नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माणको विषयमा सामूहिक रुपमा छलफल र भेला हुन सकेको छैन । यद्यपि, जिल्लाका स्थानीय तह महामारीकै बीचमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माणमा जुटेको छ ।

 

भेला भएर सम्भावित योजनाबारे छलफल गर्ने, आवश्यक बजेटको बारेमा निचोड निकाल्ने र योजना छनोट गर्ने अवस्था नहुँदा हाल स्थानीय तहले वैकल्पिक विधि अपनाएर नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माणसम्बन्धी सुझाव मागेका छन् । 

 

खोटाङका १० स्थानीय तहमध्ये खोटेहाङ गाउँपालिकाले भौतिक उपस्थितिमा अन्तरक्रियाको माध्यमबाट रचनात्मक सुझाव तथा परामर्श लिन सम्भव नभएको बताएको छ । उसले ३१ जेठभित्र आगामी आर्थिक वर्षमा गाउँपालिकाले तय गर्न उपयुक्त हुने नीति तथा कार्यक्रम र बजेटसम्बन्धी सुझाव तथा परामर्श लिखित रूपमा इमेलमा उपलब्ध गराउन आग्रह गरेको छ । 

 

गाउँपालिका अध्यक्ष प्रदीप राईले २५ जेठमा जारी गरेको सूचनामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेट तयारीका लागि रचनात्मक सुझाव तथा परामर्श दिनका लागि पालिकाबासी नागरिक समाज, राजनीतिक दल, गैरसरकारी संस्था, संघ–संस्था, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, युवा, महिला, जनजाति, दलित, अपांग, अल्पसंख्यक, खेलाडी, व्यवसायीलगायतलाई आग्रह गरिएको छ ।

 

खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि नवौं गाउँसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम र वार्षिक बजेट समीक्षा तयारीका लागि चालू आर्थिक वर्ष सम्पादित महत्त्वपूर्ण कार्यको बुँदागत विवरण एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त सुझाव ३१ जेठभित्र पेस गर्न शाखा प्रमुख र वडा सचिवलाई पनि २४ जेठमा पत्राचार गरेको थियो । 

 

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले ३० जेठसम्म आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रम तथा बजेट तयारीसम्बन्धी सुझाव संकलन गरिरहेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले २१ जेठमा सूचना जारी गर्दै नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नगरसभाको पूर्वतयारीको सिलसिलामा वार्षिक कार्यक्रम तथा वजेट उपलब्ध गराउनका आह्वान गरेका थिए । 

 

साकेला गाउँपालिकाले पनि आर्थिक वर्ष २०७८÷७९ को योजना छनोट तथा प्राथमिकीकरणका लागि आगामी ६ असारसम्म इमेल वा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर योजना पेस गर्न भनेको छ । 

 

गाउँपालिकाले २८ जेठमा जारी गरेको सूचनामा आयोजना तथा कार्यक्रमको नाम, लाभग्राही संख्या, अनुमानित लागत र क्रियाकलापबारे खुलाएर योजनाको माग गर्न आग्रह गरिएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा ढाँचा तोकेर सम्बन्धित वडा कार्यालय वा गाउँ कार्यपालिकाअन्तर्गतको योजना शाखामा योजना पेस गर्न भनिएको छ । रावाबेँसी गाउँपालिकामा पनि आगामी आर्थिक वर्षको योजना निर्माणको काम भइरहेको
छ ।

 

नगरपालिका, गाउँपालिकाको आसन्न सभालाई दृष्टिगत गर्दै हाल हरेक वडामा पनि योजना छनोट प्रक्रिया चलिरहेको छ । वडामा कोभिड–१९ को महामारीका कारण व्यक्ति विशेषबाट सुझाव संकलन गरेर योजनाको प्राथमिकीकरणको काम भइरहेको छ । 

 

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडका वडाध्यक्ष रुद्र राईले आगामी आर्थिक वर्ष समेट्नुपर्ने सामाजिक कार्य, योजना तथा कार्यक्रमबारे फेसबुक म्यासेन्जरबाट सझुाव दिन आग्रह गरेका छन् । नगरसभालाई लक्षित गर्दै टोल–टोलमा योजना छनोट भइरहेको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राईले बताए ।