close

बाजुराका चार गाउँमा घरैपिच्छे छ्यालब्याल पानी

बाजुराका चार गाउँमा घरैपिच्छे छ्यालब्याल पानी

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको दुुर्गम ४ वटा गाउँमा एक घर एक धारा निर्माण भएका छन् । स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ छापु र सोही गाउँपालिकाको वडा नम्बर ५ जेरा गाउँमा घरपिच्छे धारा निर्माण क्रममा रहेका छन् ।

 

त्यस्तै, गौमूल गाउँपालिका वडा नम्बर ३ माझपाली र वडा नम्बर १ अम्लिस गाउँमा एक घर एक धारा निर्माण भएर खानेपानीको सुविधा पुगेको हो । गाउँपालिका, ग्रामीण जलस्रोत परियोजना तेस्रो चरण, फिनल्यान्ड सरकार/युरोपियन युनियन र जनश्रमदानमा एक घर एक धारा निर्माण भएको हो । 


एक घर एक धारा निर्माण भएपछि पानीको सास्ती भोग्दै आएका स्थानीयलाई सहज भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ छापुमा ७५ घरधुरी र सार्वजनिक कार्यलयमा समेत गरी ७७ वटा धारा निर्माण गरेर खानेपानी सञ्चालनमा आएको खालुखोरे निजी धारा खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष अक्कलनाथ योगीले बताए । स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरामा १९९ परिवारका प्रत्येक घरमा धारा निर्माण अन्तिम चरणमा पुगेको छ ।


यस्तै, गौमूल गाउँपालिका वडा नम्बर ३ माझपालीमा ४८ घर र वडा नम्बर १ अम्लिस गाउँमा रहेका ५४ परिवारका प्रत्येक घरमा धारा निर्माण भएको ग्रामीण जलस्रोत परियोजना प्राविधिक सहकर्ता तेजबहादुर बोहराले बताए । धारा निर्माणसँगै खानेपानी पनि छाडिइसकेको उनको भनाइ छ । धारा निर्माणसँगै तालिम प्राप्त मर्मतसम्भार कार्यकर्ता खटाइएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।

 

एक घर एक धारा निर्माण भएपछि गाउँलाई पूर्ण सरसफाइ क्षेत्र बनाउन सहज भएको रोकायाले बताए । ‘गाउँमा खानेपानी नहँुदा शौचालयसमेत प्रयोगविहीन हुने गरेका थिए । अहिले एक घर एक धारा निर्माण भएपछि गाउँ सफा बन्दै गएका छन्’, अध्यक्ष रोकायाले भने ।


खानेपानी मर्मतसम्भार कार्यकर्तालाई मासिक २ हजार रुपैयाँ पारिश्रमिक दिने गरेका छन् । समुदायले मर्मतसम्भार कोषसमेत स्थापना गरेका छन् । पानीको न्यूनतम महसुल प्रतिधारा १ सय रुपैयाँ तिनुपर्छ । त्योभन्दा बढी प्रयोग भए प्रतिमहिना प्रतियुनिट १० रुपैयाँ तिर्नुपर्नेछ ।

 

नयाँ धारा जडान गर्दा जनश्रमदान नगरेकालाई प्रतिधारा ५ हजार र जनश्रमदान गरेकालाई प्रतिधारा २५ सय रुपैयाँ लिइने गरेको छ । लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका यी चार गाउँमा घरपिच्छे धारा निर्माण भएपछि निकै सहज भएको छ ।