close

वालिङमा सुरु भयो व्यावसायिक बंगुरपालन 

वालिङमा सुरु भयो व्यावसायिक बंगुरपालन 

Trulli
ADVERTISEMENT

स्याङ्जा- वालिङ नगरपालिकाले बंगुरपालनको सम्भावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी व्यावसायिक बंगुरपालनलाई अगाडि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिबन बन उपभोक्ता समूहलाई बंगुर पकेट क्षेत्रका रुपमा विकास गरेको हो । 

 

घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, कृषकहरुलाई आवश्यक तालिम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेष गरी व्यावसायिकतामा जोड दिइने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । ‘पकेट क्षेत्रका कृषकहरुमा व्यवसाय सञ्चालनका लागि दृढ इच्छा, संकल्प हुनुपर्‍यो अन्य सहयोग नगरपालिकाले गर्छ ।’ 

 

सामूहिक वा व्यक्तिगतरुपमा बंगुरपालन गर्न चाहने कृषकहरुका लागि आवश्यक परेमा नगरपालिकाले बंैकहरुसँग समन्वय गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको लागि बजारीकरणको व्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने नगर प्रमुखको भनाइ छ । 


कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले आर्थिक समृद्धिकालागि यो कार्यक्रमले निक्कै महत्व राख्ने भएकाले पनि कृषकहरुलाई व्यावसायिकतातर्फ जोडिन आग्रह गरिन् । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष पाण्डुकुमार थापाले नगरपालिका, वडा कार्यालय तथा कृषकहरुबीचको सहकार्यबाट थप सफलता हात पर्ने बताए । 

 

चालु आर्थिक वर्षका लागि दश लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको व्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाइएको वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताए ।