close

पर्यटकको पर्खाइमा जुम्लाका धार्मिक पर्यटकीय क्षेत्र (भिडियो खबर)

पर्यटकको पर्खाइमा जुम्लाका धार्मिक पर्यटकीय क्षेत्र (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- वैशाखदेखि देशभर कोरोना भाइरसको दोस्रो भेरियन्टले संक्रमणको दर बढ्यो । अत्यधिक भीडभाड हुने क्षेत्र बन्द गर्न सरकारले निर्देशन नै दियो । भीडभाड हुने क्षेत्रमा धार्मिक क्षेत्र पनि परेका छन् ।  निषेधाज्ञाका कारण पनि धार्मिक क्षेत्रमा मानिसको उपस्थिति हुने कुरै भएन ।

 

जसका कारण यो क्षेत्र अत्यन्तै प्रभावित भएका छन् । धार्मिक अनुष्ठान र नित्य पूजा बाहेक अन्य सबै काम रोकिएको छ । पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण क्षेत्र भनेपनि निषेधाज्ञाले पारेको असरले अहिले जुम्लाका अधिकांश धार्मिक क्षेत्र सुनसान भएका छन् भने पर्यटकको पर्खाइमा स्थानीय बसिरहेका छन् । 

 

जुम्लाको पर्यटकीय क्षेत्र डुडुल चैत्य शान्ति स्तुप गुम्बा बौद्ध धर्मावलम्बीको अगुवाईमा निर्माण भएको हो । जुम्लाको सदरमुकाम खलंगा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका वडा नं. ४ लामाचौरमा यो गुम्बा निर्माण गर्न ७ करोड खर्च भएको छ । पर्यटकीय जिल्ला जुम्लामा यो गुम्बाले थप पर्यटक आर्कषित गर्ने गरेको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबै भन्दा गहिरो रारा ताल भ्रमण गर्न आउने पर्यटक जुम्लाको यो गुम्बा पुग्ने गरेका थिए ।

 

यो गुम्बा भ्यूटावर जस्तो अग्लो डाँडामा भएकोले यसै ठाउँबाट जुम्ला सदरमुकाम खलंगाको पनि दृष्य अवलोकन गर्ने गरेका थिए । यस्तै, चन्दननाथ भैरवनाथ मन्दिर पनि एक पौराणिक धार्मिक पर्यटकीय क्षेत्र हो । यिनै मन्दिरमा पनि धार्मिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको थियो । तर, अघिल्लो बर्षको चैत महिनादेखि देशभरसहित जुम्लामा पनि कोरोना संक्रमण फैलिँदा यि पर्यटकीय क्षेत्र सुनसान छन् ।

 

पहिलो र दोस्रो लहरको कोरोना संक्रमण फैलिएदेखि पर्यटकको आगमन शुन्य जस्तै भएको छ । कोरोनाले गर्दा सिंजा उपत्यका, कनकासुन्दरी मन्दिर, पाण्डबगुफा, तातोपानी धारा, विश्वकै अग्लो उचाईमा (२८५० मिटर) मार्सीधान फल्ने छुमचौर ज्यूलो, काञ्जिरोवा हिमाल जस्ता धेरै पर्यटकीय क्षेत्र प्रभावित भएका छन् ।  

 

कोरोना संक्रमणका कारण धार्मिक क्षेत्र अहिले सुनसान छन् । धार्मिक पर्यटक तथा भक्तजन नआउँदा यहाँको दानदक्षिणाबाट संकलन हुने भेटीमा पनि गिरावट आएको छ ।  यहाँको धार्मिक पर्यटकलाई आर्कषण गर्नका लागि बौद्ध धर्मावलम्बीले करोडौँ रकम खर्च गरेर गुम्वा निर्माण गरेका छन् ।


जुम्लामा मात्रै होइन अधिकांश धार्मिक पर्यटन क्षेत्र अहिले निषेधाज्ञा र कोरोनाका कारण प्रभावित भएका छन् । महामारीले उग्र रूप लिइरहँदा सरकारले नै धार्मिक क्षेत्र बन्द गर्न भनेकाले अहिले सबै ठाउँमा यस्तै छ । कोरोना रोकिएपछि पुनः धार्मिक क्षेत्रमा धर्मावलम्बीको उपस्थिति बढ्ने अपेक्षा भने गरिएको छ ।