close

भत्ताको ५३ लाख चोरी प्रकरणः छानविन गर्न मन्त्रालयले बनायो समिति

पञ्चकन्या पुगेर साेमबारबाटै अनुसन्धान थाल्ने

भत्ताको ५३ लाख चोरी प्रकरणः छानविन गर्न मन्त्रालयले बनायो समिति

पञ्चकन्या पुगेर साेमबारबाटै अनुसन्धान थाल्ने

Trulli
ADVERTISEMENT

काठमाडौं- नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कार्यालयवाट हराएको ५३ लाख रुपैयाँ रकमबारे छानविन गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले छानविन समिति गठन गरेको छ । वडा कार्यालयबाट गत २४ चैतमा चोरी भएको भनिएको सो घटना रहस्यमय बन्दै गएपछि मन्त्रालयले सत्य तथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको हो ।

 

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उपसचिव मदन कोइराला संयोजक र लेखा अधिकृत उमेश्वर काफ्ले सदस्य रहेको समिति गठन भएको मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाले पालिकाखबरलाई जानकारी दिए । खतिवडाका अनुसार समितिका सदस्यहरु भोलि अर्थात सोमवार नै गाउँपालिका पुग्नेछन् । 


समितिले चोरी घटनामा संलग्न भनिएका वडासचिव सरिता रावत, वडाका दुईजना प्राविधिक स्तरका कर्मचारी, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतसँग सोधपुछ गरी प्रतिवेदन तयार पार्नेछ । समितिले तयार पारेको प्रतिवेदनका आधारमा थप कारवाही अघि बढाउने मन्त्रालयको भनाई छ ।

 

चोरी प्रकरणमा प्रशासकीय अधिकृतको नीतिगत कमजोरी रहेको भन्दै उनलाई मन्त्रालयमा हाजिर गराएर अनुसन्धान थाल्ने मन्त्रालयले तयारी गरेपनि अन्तिम अवस्थामा फिल्डमै गएर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अधिकृत नरेश पुडासैनीलाई पालिकामै बस्न भनिएको मन्त्रालयको भनाइ छ । 

 

गत चैत २० मा सामाजिक सुरक्षा भत्ता वाँढ्न भन्दै वडा सचिवले बैंकवाट झिकेको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ सोही दिन राती चोरी भएको थियो । 


चोरी प्रकरणमा मुछिएका वडा सचिव रावतसहित ३ जनामाथि मुद्धा परेपनि उनीहरु हाल धरौटीमा छुटिसकेका छन् । वडा कार्यालयवाट रकम चोरी भएपनि सरकारी वकिल कार्यालयले भने मुद्धा दर्ता गर्दा चोरी नभइ अन्य कसुरमा मात्र मुद्धा चलाएपछि घटना थप रहस्यमय बन्दै गएको छ । 


चोरी प्रकरणमा पालिकाखबरले निरन्तर फलोअप गरेपछि मन्त्रालयले प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेर कारवाही अघि बढाइसकेको छ भने बैंक खाता नखोली भत्ताको रकम भुक्तानी नदिने कोष तथा लेखा नियन्त्रण कार्यालयले निर्णय नै गरिसकेको छ ।

सम्बन्धित खबर:

 

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ वडा कार्यालयबाटै गायब

भत्ता चोरीमा प्रशासकीय अधिकृतदेखि पालिका अध्यक्षसम्म शंकाको घेरामा

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)

गाउँपालिका अध्यक्षको विज्ञप्तिः गाली-बेइज्जतीका लागि तयार भएर बस्नू !

पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मन्त्रालय तानेर निलम्बनको तयारी

प्रकाशित खबरलाई लिएर गाउँपालिका अध्यक्षले दिएको धम्कीप्रति अनलाइन पत्रकार संघको आपत्ति