close

खोटेहाङले बाँड्यो किसानलाई ७५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर 

खोटेहाङले बाँड्यो किसानलाई ७५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले किसान तथा कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७–७८ को स्वीकृत वार्षिक कृषि तथा पशु कार्यक्रमअन्तर्गतको बजेट तथा कार्यक्रमबाट ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले किसान तथा कृषक समूहलाई ११ वटा हाते ट्रयाक्टर उपलब्ध गराएको हो । 

 

कृषि पेसालाई यान्त्रिकीकरण गर्दै व्यावसायिकीकरण गर्ने लक्ष्यसाथ खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखास्थित हरियाली कृषक समूह, वडा नम्बर ८ सिमपानीस्थित बगैँचा बहुउद्देश्यीय कृषक समूह, वडा नम्बर ८ सिमपानीस्थित खतिवडा बहुउद्देश्यीय कृषि फार्म, वडा नम्बर ८ कै सिमपानीस्थित शुभलक्ष्मी कृषक समूह, वडा नम्बर १ लिकुवापोखरीस्थित बंछाल कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरिएको छ ।

 

यस्तै, वडा नम्बर ८ सिमपानीस्थित बर्रे प्रगतिशील कृषक समूह, वडा नम्बर ६ इन्द्रेणीपोखरीस्थित दशमी कृषक समूह र वडा नम्बर ६ कै इन्द्रेणीपोखरीस्थित गोदावरी कृषक समूहलाई १–१ थान हाते ट्रयाक्टर प्रदान गरिएको हो । 

 

वडा नम्बर १ लिकुवापोखरीस्थित पदमबहादुर न्यौपानेसहित ५ कृषकको समूह, वडा नम्बर ८ सिमपानीस्थित प्रल्हाद अधिकारीसहितको ५ जनाको समूह र वडा नम्बर ७ खोटाङबजारस्थित उमेश भट्टराईसहित ५ जनाको समूहलाई १÷१ थान हाते ट्रयाक्टर वितरण गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक ममिता खवासले बताइन् । 

 

हाते ट्रयाक्टर गाउँपालिका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राईलगायतले किसानलाई हस्तान्तरण गरेका थिए । किसानलाई अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराउनका लागि गाउँपालिकाले १५ दिने सूचना आह्वान गरेको थियो ।

 

सूचना आह्वानपछि परेको निवेदनका आधारमा ११ किसान र कृषक समूहलाई हाते ट्रयाक्टर बाँडिएको हो । किसानलाई जमिन जोत्ने हाते ट्रयाक्टर वितरणका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष ७ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो ।

 

हाते ट्रयाक्टरमा किसानले २५ प्रतिशत बेहोरेको कृषि शाखा संयोजक खवासले जानकारी दिइन् । पछिल्लो समय जमिन खनजोतका
लागि किसान हाते ट्रयाक्टरप्रति आकर्षित हुन थालेका छन् । गोरु नारेर हलोले जोतिने कतिपय खेतबारीमा हाल हाते ट्रयाक्टर गुडाउन थालिएको छ ।