close

प्राविधिक पढ्नेलाई बिनाब्याजमा शैक्षिक ऋण दिँदै भूमे

प्राविधिक पढ्नेलाई बिनाब्याजमा शैक्षिक ऋण दिँदै भूमे

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिकाले पालिकाभित्र प्राविधिकतर्फको जनशक्ति उत्पादनका लागि प्रोत्साहनस्वरूप बिनाब्याजमा शैक्षिक ऋण उपलब्ध गराउन थालेको छ ।

 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयनका लागि विद्यार्थीलाई विना ब्याजमा शैक्षिक ऋण उपलब्ध गराउन बजेट विनियोजन गरिएको गाउँपालिकाले बताएको छ । यस आर्थिक वर्षमा २ विद्यार्थीलाई बिनाब्याजमा शैक्षिक ऋण स्वीकृत गरिसकेको छ ।

 

आइतबार बसेको गाउँ कार्यपालिका बैठकले २ विद्यार्थीलाई शैक्षिक ऋण स्वीकृत गरेको हो । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका पालिकाभित्रका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न बिनाब्याज शैक्षिक ऋण उपलब्ध गराउन सुरु भएको पालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

 

गाउँपालिकामा प्राविधिक जनशक्ति उत्पादन गर्न स्वास्थ्य, इञ्जिनियरिङ, कृषि, पशुलगायत प्राविधिकतर्फ अध्ययनका लागि आर्थिक अवस्था कमजोर रहेका घरपरिवारका विद्यार्थीलाई अधिकत ५ लाख रुपैयाँसम्म बिनाब्याजमा शैक्षिक ऋण दिइने प्रावधान रहेको अध्यक्ष बुढाले जानकारी दिए ।

 

३ वर्षे कृषितर्फको आईएस्सीएजी अध्ययनरत २ विद्यार्थीलाई ३/३ लाख रुपैयाँको दरमा शैक्षिक ऋण दिन गाउँ कार्यपालिकाबाट स्वीकृत गरिएको अध्यक्ष बुढाले बताए । चालू आर्थिक वर्षमा २ जनाको शैक्षिक ऋणका लागि गाउँपालिकामा निवेदन आएकामा स्वीकृत गरिएको गाउँ कार्यपालिकाले जनाएको छ ।

 

शैक्षिक ऋणका लागि विद्यार्थीको शैक्षिक प्रमाणपत्र, वडाको सिफारिससहित आफ्नो वडाको वडा सदस्यको जिम्मेवारीमा पालिकामा शैक्षिक ऋणको निवेदन आए न्यून आय भएका परिवारका विद्यार्थीलाई शैक्षिक ऋण दिइने गाउँपालिकाको नीति छ । विद्यार्थीले लिएको ऋण हरेक वर्षमा २५ प्रतिशतका दरमा ४ वर्षमा पालिकालाई बुझाउनुपर्नेछ ।


‘गाउँपालिकामा प्राविधिकतर्फको जनशक्ति न्यून रहेकाले यस्तो जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यका साथ बिनाब्याजमा शैक्षिक ऋण दिने प्रावधान राखेका हौँ’, अध्यक्ष बुढाले भने, ‘यो नीति चालू आर्थिक वर्षमा मात्र लिइएकाले सबै अभिभावक तथा विद्यार्थीमाझ नपुगेकाले निवेदन कम आएको हुन सक्छ ।’ यो नीतिलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिँदै जाने अध्यक्ष बुढाको भनाइ छ ।