close

१३५ दिनमा बल्ल ७ प्रतिशतलाई खोप, लक्ष्य भेट्न कठिन 

लक्षित समूह २ करोड १७ लाख ५६ हजार ७६३, बल्ल ३० लाखले लगाए 

१३५ दिनमा बल्ल ७ प्रतिशतलाई खोप, लक्ष्य भेट्न कठिन 

लक्षित समूह २ करोड १७ लाख ५६ हजार ७६३, बल्ल ३० लाखले लगाए 

Trulli
ADVERTISEMENT

काठमाडौं- खोप अभियान सुरु भएको १३५ दिनसम्म मुलुकभर कुल जनसंख्याको ७ प्रतिशत अर्थात ३० लाखले मात्र कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढीले पहिलो तथा दोस्रो खोप लगाएका हुन् ।


नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ सय ८५ छ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजनासमेत बनाएको छ । गत १४ माघ २०७७ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो ।


सरकारले हाल चीनले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा भेरोसिल खोप लगाउने अभियान चलाइरहेको छ । तर, काठमाडौं महानगरसहित केही पालिकामा खोप सकिएपछि अभियान अवरुद्ध भएको छ ।


स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड-१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई लगाउनुपर्ने देखिएको छ । औषधी व्यवस्था विभागले कोभिसिल्ड, भेरोसिल, कोभ्याक्सिन, स्पुतनिक भी र साइनोभ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।


स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खोप खरिदको प्रयास भइरहेकाले केही दिनमै खोप आउने दाबी गरेका छन् । ‘केही दिनमै खोपसम्बन्धी सुखद समाचार सुन्नुहुनेछ,’ मन्त्री तामाङले भने । सरकारले १४ लाख ज्येष्ठ नागरिकलाई हालसम्म कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइसक्नुपर्ने हो । तर, भारत सरकारमार्फत खरिद गरिएको खोप उपलब्ध नहुँदा लगाउने मितिको टुंगो छैन ।


स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले कोभिसिल्ड खोप लगाएकालाई एस्ट्रेजेनिका लगाइने बताए पनि उक्त खोप कहिले आउने हो, अहिलेसम्म टुंगो लागेको छैन ।


देशभर १ हजार १ सय ८९ आइसियू र ३ सय ६६ संक्रमित भेन्टिलेटरमा छन् । प्रदेश १ मा १ सय ९६ आइसियु र ५४ भेन्टिलेटर, प्रदेश २ मा ५८ आइसियु र १४ जना भेन्टिलेटरमा उपचाररत छन् । बागमती प्रदेशमा ६ सय ८७ आइसियु र २ सय ४१ जना भेन्टिलेटरमा छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ८९ आइसियु र २७ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १६ आइसियु र १८ जना भेन्टिलेटर, कर्णालीमा २२ जना आइसियु र ४ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २१ आइसियु र ८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक छ ।