close

एसइईको नतिजा साउन १५ भित्र

एसइईको नतिजा साउन १५ भित्र

Trulli
ADVERTISEMENT

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साता सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ । सरकारले २० असारभित्र आन्तरिक मूल्यांकन पठाउन विद्यालयलाई निर्देशन दिएको हो ।


एसइईमा सहभागी हुन आवेदन दिने विद्यार्थीको २० असारभित्र आन्तरिक मूल्यांनका सबै कार्य पूरा गरी जिल्ला समन्वय इकाइ कार्यालयमा पठाइसक्नुपर्नेछ ।


राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांनका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै २० असारसम्म सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्यांकन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

 

विद्यालयले पठाएको आन्तरिक मूल्यांकन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने उनले बताए ।


असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्नेछ ।


कुनै अवरोध नभए बोर्डले एसईईको नतिजा आगामी १५ साउनभित्र सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ सुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।


बोर्डले विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न मुख्य विषय शिक्षकलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अंग्रेजी, गणित र विज्ञान शिक्षक गरी ५ सदस्यीय समिति बनाएर उनीहरूले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।


गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक ५ सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।


विद्यार्थीको अत्यधिक मूल्यांकन गरिएका कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्यांकनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले बताएको छ ।