close

भेन्टिलेटर र अक्सिजन छैन, कसरी गर्नू उपचार ? (भिडियो वार्ता) 

भेन्टिलेटर र अक्सिजन छैन, कसरी गर्नू उपचार ? (भिडियो वार्ता) 

ADVERTISEMENT

अछामको साँफेबगर नगरपालिकाका कोरोना संक्रमण रोकथाम र उपचारमा जुटेको छ । तर, पालिकासँग पर्याप्त अक्सिजन छैन । भेन्टिलेटर भनेका बेला पाइँदैन । आखिर किन भयो त अभाव ? नगरप्रमुख कुलबहादुर कुँवरसँग पालिका खबर बुलेटिनका लागि करिश्मा कार्कीले गरेको भिडियो वार्ता :

 

तपाईंको पालिकामा संक्रमणको अवस्था कस्तो छ ? रोकथाम र राहतका लागि के गरिरहनुभएको छ ?

कोरोनाको स्थिति अलि गम्भीर छ, यहाँ । दोस्रो चरणमा हामीले पालिकाभित्र ८ सय ८० स्वाब संकलन गर्‍यौँ । ८ सय ६९ को रिपोर्ट आयो । ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । ४४ प्रतिशतमा संक्रमण देखिएकाले हाम्रोमा कोरोनाले अलि नराम्ररी नै आक्रान्त बनाएको देखिन्छ । त्यसैले हामीले १४ वडामै स्वाब संकलन गरेर महामारीको यकिन संख्या थाहा पाउन खोज्यौँ ।

 

हामीले जनेचतना बढायौँ । नियन्त्रणका अहिले पनि विभिन्न पहल गरिरहेका छौँ । उनीहरूको उपचारका लागि ५० शय्याको बयालपाटा अस्पतालमा आर्थिक सहयोग गर्‍याैँ । नगरपालिकाका तर्फबाट ७० लाख अनुदान दियौँ । त्यसैले हाम्रो पालिकाले यो महामारीमा बिरामीका लागि आवश्यक अक्सिजन, भेन्टिलेटर अभाव कहिल्यै भोग्नुपरेन । 

 

चालू आर्थिक वर्षमा कृषि र उद्योगलाई प्राथमिकता दिने भनेर बजेट तथा नीति कार्यक्रम ल्याउनुभयो । तर, आर्थिक वर्ष सकिन लाग्दा खासै प्रगति देखिएन नि ? 

त्यस्तो होइन । काम भइरहेका छन् । निषेधाज्ञा जारी गरेपछि पनि विकास निर्माण रोकिएका छैनन् । निषेधाज्ञाका कारण भीडभाडले गर्न नमिल्ने काम मात्रै बन्द छन् । तर, हामीले निर्धारण गरेका योजना र विकासका काम भने जारी छन् । 

 

अब आउने नयाँ बजेटमा तपाईंहरूका प्राथमिकता क्षेत्र कोरोना नियन्त्रणबाहेक अरू के-केमा छन् ?

गत वर्ष हाम्रो मुख्य विषय कोरोनामा केन्द्रित थियो । कोरोना सँगसँगै खानेपानी, शिक्षा र सडक नै हाम्रो प्राथमिकतामा थिए । यस वर्ष पनि तिनै विषयलाई समेटेका छौँ । सबै वडा र टोलमा सडक भए पनि पानी पर्दा हिँड्न नमिल्ने भएकाले त्यसको स्तरोन्नतिका लागि हामीले काम गरिरहेका छौँ । 

 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई श्रमसँग जोडे पनि उद्यमी बनाउन अब नीति निर्माणको बेला भएन ? 

प्रधानमन्त्री रोजगार कार्यक्रमको नीति बनाउने काम युवा परिषद्ले गरिरहेको छ । यो वर्ष पनि प्रभावकारी ढंगले काम भएका छन् । तर, कार्यविधिले केही काम गर्न गाह्रो भएको छ । विगतमा ३० प्रतिशत सामग्री खरिद र बाँकी श्रमिकको ज्याला निर्धारण गर्नुपर्ने थियो । त्यहीअनुसार बजेट बनायौँ । तर, बजेट बनाएको तीन महिनामा अर्थात् कात्तिकमा आएको कार्यविधिले भने शतप्रतिशत नै ज्यालामा खर्च गर्नुपर्ने व्यवस्था गरेको हुँदा सामग्री खरिदमा समस्या र जटिलता देखिएको छ । तर, हामीले प्रभावकारी रूपमा काम अघि बढाएका छौँ । 

 

अन्त्यमा, कार्यकालको अन्तिम बजेट बनाउने अभियानमा हुनुहुन्छ ? विगतमा अघि सारेका कार्यक्रम र योजना कार्यान्वयनको अवस्था कस्तो छ ? 

कार्यकालको अन्तिम बजेट भएकाले हाम्रो प्राथमिकता यसअघिका वर्षमा सुरु गरेका योजनालाई पूरा गर्ने सोचेका छौँ । जस्तै, पहिलो, दोस्रो र तेस्रो वर्षमा गर्न नसकेका काम अन्तिम वर्षमा कुनै पनि हालतमा पूरा गर्ने गरी योजना बनाएका छौँ ।