close

रूपन्देहीमा चौथोपल्ट थपियो निषेधाज्ञा

रूपन्देहीमा चौथोपल्ट थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीमा जारी निषेधाज्ञा परिमार्जनसहित ७ असारसम्म लम्बाइएको छ । विगतका कतिपय प्रावधानलाई केही खुकुलो बनाई निषेधाज्ञा १ साताका लागि थप गरिएको हो ।

 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आदेश जारी गर्दै बजार नियमित गर्न केही खुकुलो व्यवस्था गरिएको जानकारी
दिए । नयाँ आदेशअनुसार बजारलाई सहज बनाउन माछा, मासु, तरकारी, फलफूल, दुग्धजन्य सामग्री व्यवस्थापनका लागि बिहान ५ देखि ८ बजेसम्म पसल खुल्ने भएका छन् । 

 

अन्य व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म खुल्नेछन् । व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ । जनस्वास्थ्यको सुरक्षा मापदण्ड पालनाका लागि सम्बन्धित उद्योग वाणिज्य संघले स्वयंसेवक परिचालन गर्ने आदेशमा उल्लेख
छ ।

 

भन्सार जाँचपास भएका मालसामान बोकेका साधन, पानी, ग्यास र पेट्रोलियम पदार्थ बोकेका साधन सञ्चालन हुनेछन् । तर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ ।

 

अति आवश्यकीय साधनका लागि जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

 

विवाहका लागि भने २ वटासम्म साना गाडी सञ्चालन गर्न पाइनेछ । सुरक्षा मापदण्डसहित बढीमा १० जनासम्मका लागि पास दिन सकिने व्यवस्था मिलाइएको छ । कोभिड–१९ परीक्षणको दरलाई थप व्यापक बनाउने आदेशमा उल्लेख छ । 

 

सीमानाका, जिल्लाभित्रका पालिका र अस्पतालमा परीक्षणलाई तिव्रता दिइनेछ । त्यस्तै, सरकारले तोकेबमोजिम सुरक्षासहित खोप केन्द्रमा खोपको व्यवस्थापन गर्ने आदेश भएको छ । जनअपेक्षालाई ध्यानमा राखी बैंक तथा वित्तीय संस्था सञ्चालनमा आउने भएका छन् ।

 

स्वास्थ्य मापदण्डसहित न्यूनतम जनशक्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्था सञ्चालनमा ल्याउन सकिने आदेशमा भनिएको छ । एम्बुलेन्स सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाइनेछ ।

 

जिल्लामा रहेका ८३ वटा एम्बुलेन्सलाई कोभिडमैत्री बनाउने, खाद्यवस्तु तथा आवश्यकीय वस्तुको कृत्रिम अभाव सिर्जना गरे कानुनबमोजिम कारबाही गर्ने, अस्पतालमा रगत अभाव हुन नदिनेजस्ता रणनीतिसमेत तय भएका छन् । अनिवार्य मास्क प्रयोगलाई जोड दिइएको छ । 

 

मास्क प्रयोगबिना सार्वजनिक क्षेत्रमा आउजाउ गरे पटकैपिच्छे १ सय रुपैयाँका दरले जरिमाना गरिनेसमेत आदेशमा उल्लेख छ । योसँगै रूपन्देहीका चौथो निषेधाज्ञा थपिएको हो ।